काँकडभिट्टाबाट किबीका बिरुवा भूटान निर्यात
प्रकाशित मिति
२०७८ पुष ७ गते, बुधबार १२:३४
७ पुस २०७८, काठमाडौं : पूर्वीनाका काँकडभिट्टाबाट किबीको बिरुवा भूटान निर्यात हुन थालेको छ । इलाममा उत्पादित किबीको बिरुवा भूटान निर्यात गरिएको हो ।
भूटानले किबीखेतीमा किसानलाई प्रोत्साहन गरेपछि यसको बिरुवाको माग भएको झापास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका प्रमुख देविन्द्र साहुले बताए । रु १ लाख १५ हजार बराबरको १ हजार २ सय वटा किबीको बिरुवा भूटान निकासी भएको छ । “चालु आवमा पहिलोपटक किबीको बिरुवा पूर्वीनाका हुँदै निर्यात भएको हो”, उनले भने ।

किबी फलको आयात भारतबाट भइरहेका बेला इलामका किसानले उत्पादन गरेको सोही फलको बिरुवा निर्यात हुनु सुखद कुरा भएको साहुले बताए । उनले भने, “यसबाट किसानमा उत्साह थपिन्छ ।” यसअघि आव २०७४र७५ मा १०० र आव २०७५र७६ मा किबीका २ सय वटा बिरुवा भारत निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । इलाममा एक दशकअघि किबीखेती सुरु गरिएकामा हाल उक्त खेती २० हजार रोपनीमा विस्तार भएको छ ।





प्रतिकृया