• 2:37 am

गृहमन्त्री खाँण सिंह निवासमा, किन पठाए प्रधानमन्त्री देउवाले चाक्सीबारी ?

प्रकाशित मिति

२०७८ मंसिर २८ गते, मंगलवार ०९:३२

२८ मंसिर , काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाँण सभापतिका प्रत्याशी नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन् । पहिलो चरणमा सभापतिमा कसैले पनि बहुमत पुर्‍याउने अवस्था नरहेपछि खाँण सिंह निवास पुगेका हुन् ।


सभापतिका प्रत्याशी एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत प्राप्त गर्ने सम्भावना कम हुँदै जाँदा देउवाले सिंहलाई आफ्नो पक्षमा पार्न खाँणलाई चाक्सीबारी पठाएका हुन् । मतगणनाको आधिकारिक रूपमा परिणाम सार्वजनिक गरिएको छैन ।


देउवाले ८२ भोटले बहुमत पुर्‍याउन सकेनन् । कुल खसेको ४६७९ मतमध्ये देउवाले २२५८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका छन् । त्यस्तै प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् ।


अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ ।कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।


निर्वाचन समितिले मतपत्रको तयारी गरेर तुरुन्तै मतदान प्रक्रिया अघि बढाउने जनाएको छ ।

प्रतिकृया