• 5:11 am

स्याउ हेर्न मनाङ जाँदै हुनुहुन्छ ? अब टिकटको २ सय लाग्ने

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०१:४४

मंसिर २४, २०७८ ,काठमाडौं : ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित एग्रो मनाङ प्रा‍लिले स्याउ हेर्न टिकटको व्यवस्था गरेको छ । मनाङमा लगाएको स्याउ फार्म हेर्न जिल्ला र जिल्लाबाहिरका पर्यटक आउने गरेका छन् ।अन्नपूर्ण पदमार्गमा आएका विदेशी पर्यटक पनि बगैँचामा नै रमाउने गरेका छन् । मनाङ घुम्न जानेहरू भ्राताङको स्याउ बगैँचा नघुमी फर्कँदैनन् । स्याउ बगैँचा घुम्ने, फोटो खिच्ने र स्याउ किनेर लाने गर्छन् ।


एग्रो मनाङले स्याउबारीमा पर्यटन प्रवर्द्धन गर्न टिकट प्रणाली लागु गरेको हो । एग्रो मनाङका अध्यक्ष समराज गुरुङले भने स्याउबारीमा स्याउ हेर्न पर्यटकको भिड लाग्न थालेपछि टिकट प्रणालीको व्यवस्था गरिएको हो ।


स्याउ हेर्न दिनहुँ ६०–७० जना आन्तरिक पर्यटक र ३०–४० जना विदेशी पर्यटक स्याउबारी हेर्न आउने गरेको एग्रो मनाङका अध्यक्ष समराज गुरुङले बताए । स्याउ हेर्नका लागि आन्तरिक पर्यटकले प्रतिव्यक्ति २०० र बाह्य पर्यटकले प्रतिव्यक्ति ४०० रुपैयाँ तिर्नुपर्छ ।


‘बिदाको समयमा त झन यहाँ अवलोकन गर्न आउनेको घुइँचो नै लाग्छ,’ एग्रो मनाङका अध्यक्ष गुरुङले भने । केही घुम्न त, केही स्याउ खेतीबारे जानकारी लिन आउने गरेका छन् । टिकट काटेर स्याउबारीमा प्रवेश गरेका पर्यटकलाई उनीहरूको जिज्ञासाअनुसार स्याउ, स्याउ रोप्ने तरिका, हुर्काउने विधि, यसको प्रकार, टिप्ने तरिका, भण्डारण, फार्म हाउस साथै ग्रेडिङ प्रणाली देखाइने गरिएको छ ।


दक्षिण एसियामै ठूलो दाबी गरिएको एग्रो मनाङको ७३५ रोपनी जग्गामा स्याउखेती गरिएको छ । एग्रो मनाङले ६ वर्षअगाडी इटली र सर्भियाबाट ल्याएर स्याउ रोपेको हो । गत वर्ष ४५० टन स्याउ उत्पादन भएको एग्रो बगानमा यस वर्ष ५०० टन उत्पादन हुने अनुमान गरिएको छ । फार्ममा गाला, गोल्डेन र फुजी जातका स्याउ लगाइएको छ । स्याउलाई स्टोर गर्न भ्राताङ, बेसीसहर र काठमाडौंमा कोल्ड स्टोर बनाइएको छ । मनाङका चार स्थानीय तहमध्ये नार्पाभूमिबाहेक चामे, नासो र मनाङ ङिस्याङ गाउँपालिकामा स्याउ खेती गरिँदै आएको छ ।


सबैको रोजाइ बनेको भ्राताङको स्याउ फार्मका सञ्चालक भने संघीय सांसद पाल्देन छोपाङ गुरुङ हुन् । गुरुङले सञ्चालन गरेको ‘एग्रो मनाङ कृषि फार्म’ ले भ्राताङमा स्याउ उत्पादन गर्दै आएको छ । एग्रो मनाङले इटली र सर्भियाबाट स्याउका बोट ल्याएर हाइडेन्सिटी प्रविधिमार्फत स्याउ फलाएको ६ वर्ष भइसकेको छ । एग्रो मनाङले समुद्री सतहदेखि दुई हजार ९०० मिटर उचाइको भ्राताङमा ‘हाइडेन्सिटी’ प्रविधिमार्फत स्याउ फलाएको हो ।

प्रतिकृया