• 6:49 am

पौडेल समुहको बैठक चल्दै गर्दा साझा उम्मेदवार तय गर्न युवाहरुको दबाब

प्रकाशित मिति

December 7, 2021

२१ मंसिर २०७८, काठमाडौं : भित्र नेताहरुको बैठक चल्दै गर्दा बाहिर साझा उम्मेदवार तय गर्न युवाहरुले दबाब दिएका छन । नेपाली कांग्रेसको महाधिवेशन आउन दुई दिनमात्र बाँकी रहँदा सभापति शेरबहादुर देउवाको प्रतिस्पर्धी को हुने भन्ने वरिष्ठ नेता पौडेल समूहमा टुंगो लागेको छैन। पौडेल समूहमा पौडेलसहित ४ जना सभापतिका आकांक्षी छन् ।


मंगलबार साझा उम्मेदवार बारे छलफल गर्न पौडेल पक्षका नेताहरुको बैठक पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसिरहेको छ । भित्र नेताहरुको बैठक चलिरहँदा बाहिर युवाहरुले साझा उम्मेदवार तय गर्न भन्दै दबाब दिएका छन् ।


दबाब समूह बनाएर युवाहरुले प्लेकार्डसहित धर्ना भएका छन् । उनीहरुले अहिले नमिले कहिले मिल्ने भन्दै जसरी पनि एकजुट भएर सभापतिको उम्मेदवार तय गर्न पौडेल समूहका नेताहरुलाई दबाब दिएका छन् ।


पौडेल समूहमा पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । उनीहरु सबै चाक्सीबारी बैठकमा सहभागी छन् । मंगलबार दिउँदो १ बजेबाट जारी बैठक चलिरहेको छ ।

प्रतिकृया