• २० असोज २०८३, मंगलबार
  • ४ः०७ बेलुका

कुखुराको दानाको मूल्य बढ्यो, मासुको मूल्य के हुन्छ ?

प्रकाशित मिति

२०७८ आश्विन २० गते, बुधबार १०:०३

२० असोज, २०७८ काठमाडौँ : कुखुरालाई खुवाउने दानाको मूल्य बढेको छ । दाना उत्पादन गर्न आवश्यक पर्ने कच्चापदार्थ भटमासको पिनाको मूल्य अन्तरराष्ट्रिय बजारमै बढेपछि नेपालमा पनि यसको मूल्यवृद्धि भएको हो । नेपाली उद्योगी व्यवसायीले दाना उत्पादनका लागि मुख्य कच्चापदार्थ भटमासको पिना विशेषगरी भारत र अमेरिकाबाट आयात गर्छन् । गतवर्ष ती देशमा भटमासको उत्पादनमा ह्रास आएकाले दानाको कच्चापदार्थको मूल्य बढेको बताइएको छ ।

National Life

हाल दानाको मूल्य प्रतिकिलो २ रुपैयाँका दरले बढाइएको छ । बढाइएको नेपाल दाना उद्योग संघले बताएको छ, जसअनुसार ‘बी जीरो’ दानाको मूल्य प्रतिकिलो ६४ बाट बढाएर ६६ रुपैयाँ पुर्‍याएकाे छ भने ‘बी वान’ दानाको मूल्य प्रतिकिलो ६३ बाट बढाएर ६५ रुपैयाँ पु¥याइएको छ ।


त्यसैगरी ‘बीटू’ र ‘बीथ्री’ दानाको मूल्य पनि प्रतिकिलो २ रुपैयाँका दरले मूल्य बढाएर क्रमशः ६४ र ६३ रुपैयाँ कायम गरिएको छ ।करीब एक वर्ष अवधिमा भटमासको पिनाको मूल्य किलोमै ५५ रुपैयाँले बढेर ७० बाट १२५ रुपैयाँसम्म पुगेको संघका अध्यक्ष रबिन पुरीले बताए । त्यसैगरी ८० पर्ने सोयाको मूल्य बढेर प्रतिकिलो ११५ रुपैयाँ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

भटमासको पिनासँगै दाना बनाउन प्रयोग गरिने अर्को मुख्य कच्चापदार्थ मकैको मूल्य समेत बढेको छ । प्रतिकिलो २० देखि २५ रुपैयाँ पर्ने मकैको मूल्य बढेर अहिले ३५ रुपैयाँसम्म पुगेको संघले बताएको छ । नजिकको छिमेकी मुलुक भारतमा भटमासको उत्पादन घटेपछि भारतीय व्यापारीले समेत अमेरिकाबाट आयात गरी नेपाली व्यापारीलाई विक्री गर्दा महँगो परेको अध्यक्ष पुरीले बताए ।


‘अहिले परेको उत्पादन लागत अनुसार प्रतिकिलो दानामा ८ रुपैयाँसम्म मूल्य बढाउनुपर्ने हो,’ उनले भने, ‘तर एकैपटक मूल्य बढाउँदा कुखुरापालक किसान हतोत्साहित हुन सक्ने भएकाले २ रुपैयाँ मात्र मूल्य बढाइएको हो ।’ दानाको कच्चापदार्थको मूल्य आकासिनुको अर्को मुख्य कारण पछिल्लो समय चिनियाँ व्यवसायीले भटमासको खपत अत्यधिक रूपमा बढाएकाले अन्य देशमा अभाव हुनु पनि रहेको बताइएको याे समाचार अाजकाे आर्थिक अभियान दैनिकमा छ ।

प्रतिकृया