• 11:31 am

फुटबल र क्रिकेट कप्तानलाई पनि प्रबल जनसेवाश्री

प्रकाशित मिति

September 19, 2021

३ असोज, २०७८ काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सरकारबाट विभूषित हुने भएका छन् । सरकारले फुटबल टिमका कप्तान किरण र क्रिकेट टिमका कप्तान ज्ञानेन्द्रलाई प्रवल जनसेवा श्रीबाट विभूषित गर्ने भएको छ । संविधान दिवसका अवसरमा सरकारले विभिन्न विभूषण र पदकको पाउनेको सूचीमा किरण र ज्ञानेन्द्र पनि समावेश छन् ।


दुई चर्चित खेलका कप्तान अहिले भने विदेशमा छन् ।

किरणको कप्तानीमा साफ च्याम्पियनसिपको तयारीका लागि फुटबल टिम अहिले कतारमा बन्द प्रशिक्षणमा छ भने ज्ञानेन्द्रको कप्तानीमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू को सिरिज खेल्न ओमानमा छ । यस्तै सरकारले खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका अन्य व्यक्तित्वलाई पनि विभूषित गर्ने भएको छ ।


सरकारले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, तेक्वान्दो खेलाडी आयशा शाक्य, तेक्वान्दोका कोरियन प्रशिक्षक वान योङ्ग डाल, अपाङ्ग खेलाडीद्धय हिमाल अर्याल र केशव थापालाई जनसेवा श्रीबाट विभूषित गर्ने भएको छ । यसैगरी सुकीर्ति पदकबाट कराँतेकी खेलाडी अनु अधिकारी, ब्याडमिन्टन खेलाडी दीपक थापा, तेक्वान्दो प्रशिक्षक नर्वु लामा, खेल आयोजकबाट उत्तम न्यौपाने र पावर लिफ्टिङ खेलाडी प्रकाश केसीलाई सम्मानित गर्ने भएको छ ।


केही खेलाडी भने विभागको तर्फबाट सुकीर्ति पदकबाट सम्मानित हुँदैछ । जसमा उसु खेलाडी जुनि राई, तेक्वान्दो खेलाडी संगीता बस्याल र लक्ष्मण तामाङ, ट्रायथलनकी सोनी गुरुङ छन् । जुनि प्रहरी सहायक निरीक्षक हुन भने संगीता, लक्ष्मण र सोनी सशस्त्र प्रहरी जवान हुन् ।

प्रतिकृया