• १५ असोज २०८३, बिहीबार
  • १२ः०४ राती

हुप्सेकोटका १५० घर डुबानमा

प्रकाशित मिति

२०७८ असार २४ गते, बिहीबार ०५:०७

काठमाडौँ : बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाका १५० भन्दा बढी घर डुबानमा परेका छन् । वडा नं ३ बेलहानीको रजाली टोलबाट बुद्ध चोकसम्मका सबै घरभित्र पानी पसेको छ । सोही वडाकै कोलियाका केही टोलमा समेत पानी पसेको छ । स्थानीय बासिन्दाको घर गोठको भूइँतलामा पानी पसे पनि धेरै क्षति हुन भने नपाएको हुप्सेकोट–३ का वडाध्यक्ष छविलाल मिथुनले जानकारी दिए ।

National Life

यस्तै वडा नम्बर नं ३ बेलहानी र गिरुबारीबीच भागबाट गिरूवारी खोला पसेको छ । विसं २०५७ मा जापान सरकार र नेपाल सरकारको प्रयासमा जाइकाले निर्माण गरेको तटबन्ध नै पार गरेर खोला गिरुबारीको बस्ती तथा खेतमा पसेको हो । खेतमा बाढी पसेपछि करीब २० बिघा क्षेत्रफलमा लगाइएको धान नष्ट भएको जनाइएको छ ।


त्यहाँ करीब १०० बिघाको खेती प्रभावित बनेको स्थानीयवासी विश्वराज लामिछानेले बताए । यो तटबन्धलाई तत्काल व्यवस्थित गर्न नसकिए थप क्षति व्यहोर्नुपर्ने उनको भनाइ छ । यसैबीच जल तथा मौसम विज्ञान विभागले नवलपरासीको पूर्वी क्षेत्रमा शुक्रबारसम्म उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

विभागले आज नागरिकको मोबाइलमा सन्देश पठाउँदै थप वर्षा हुनसक्ने भएकाले उच्च सर्तकता अपनाउन आग्रह गरेको हो । पछिल्लो १२ घण्टामा यस क्षेत्रमा १६७.८ मिलिमिटरसम्म पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार पछिल्लो १२ घण्टामा गिरुवारी क्षेत्रमा १२७.४ मिलिमिटर तथा जिल्लाको पहाडी क्षेत्र डेढगाउँमा १६७.८ मिलिमिटर वर्षा भएको छ ।


यस क्षेत्रमा अहिले पनि पानी परिरहेकाले विनयी खोला, आरुणखोला, गिरुबारी खोला, केरुङ्गे खोला, बौलाहा खोलालगायत यस क्षेत्रका स–साना खोलामा आकस्मिक रुपमा थप बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा शुक्रबारसम्म उच्च सर्तकता अपनाउन विभागले अनुरोध गरेको छ । मनसुन शुरु भएपछि हरेक वर्ष यस क्षेत्रमा बाढी तथा पहिरोले दुःख दिने गरेको छ । -रासस

प्रतिकृया