सरकारले खोल्यो आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान
प्रकाशित मिति
२०७८ असार ८ गते, मंगलवार ०७:०२

काठमाडौं : सरकारले ५० प्रतिशत अकुपेन्सी क्षमतामा आन्तरिक उडान संचालन गर्ने तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आधा यात्रु मात्र राखेर आन्तरिक उडान संचालन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुमति दिएको छ ।
तर, उडान कहिलेदेखि संचालन गर्ने भन्ने अन्तिम निर्णय मन्त्रालयले गर्नेछ । मन्त्रिपरिषद्को अनुमतिपछि संक्रमणको स्थिती हेरेर मन्त्रालयले आन्तरिक उडान खुलाउन गृहकार्य थालेको छ । ‘सामान्य अवस्थामा हुने उडानको आधारमा ५० प्रतिशतभन्दा बढी क्षमता नबढ्ने गरी आन्तरिक उडान खुला गर्न अनुमति दिइएको छ’ स्रोतले भन्यो । उडान कहिलेदेखि खुल्छ भन्ने टुंगो लागेको छैन ।
आन्तरिक उडान बैशाख २० गतेदेखि बन्द रहेको छ । काठमाडौं उपत्यकाका जिल्ला प्रशासनहरुले भने भाइरस संक्रमण दर ५ प्रतिशतमा झरेपछि मात्र सार्वजनिक यातायात (हवाइ समेत) खुलाउन अनुमति दिन सकिने बताएका छन् ।
‘आन्तरिक उडान खुलाएमा सार्वजनिक यातायात खुलाउन पनि दबाब आउन सक्छ । यसकारण हामीले संक्रमण दर ५ प्रतिशतमा झरेमात्र खुलाउन दिने तयारी गरेका छौं’ काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले भने ।
प्रतिकृया