प्रहरीमाथि ढुंगामुढा प्रहार गर्ने ३ जना पक्राउ
प्रकाशित मिति
२०७८ जेष्ठ २४ गते, सोमबार ०५:२१
काठमाडाैँ : गरुडा नगरपालिका–२ गेडही गुठीस्थित विवाह घरमा प्रहरीमाथि ढुंगामुढा प्रहार गरी घाइते बनाएको अभियोगमा ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय सुनिल कुमार सहनी, ३३ वर्षीय दिलिप सहनी र कटहरिया नगरपालिका–६ फत्तेपुर बस्ने ३७ वर्षीय राधा साह रहेका छन् ।सोही ठाउँ बस्ने १९ वर्षीय सुजित कुमार सहनीको विवाहमा निषेधाज्ञाको समयमा मापदण्डविपरीत मानिसहरुको उपस्थितिमा डिजे बाजा बजाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिवनगर तथा गरुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले बाजा बन्द गराउने क्रममा उल्टै प्रहरीमाथि ढुंगामुढा प्रहार गरे पछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ढुंगामुढा प्रहारबाट घाइते भएका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेको झाजपुलस्थित ग्रेण्डी हस्पिटलमा उपचार भइरहेको छ भने अन्य ६ जना प्रहरी कर्मचारीहरु उपचार पश्चात डिस्चार्ज भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तास खेलिरहेको अवस्थामा १० जना पक्राउ
काठमाडौं, काठमाडौं महानगरपालिका–२६ गोंगबुचोक डेरा गरी बस्ने फ्रिदा जोशीको कोठामा तास खेलिरहेको अवस्थामा काभ्रे साँगा घर भई हाल काठमाडौं कलंकी बस्ने ४५ वर्षीया सरिता जोशी लगायत १० जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । फ्रिदा जोशीको कोठामा ताल खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १५ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । हाल फरार फिद्रा जोशीको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
विभिन्न हातहतियार बरामद
भक्तपुर, सूर्यविनायक नगरपालिका–४ दक्षिणबाराही मन्दिर नजिक चौताराबाट एसएलआर राइफलको ५ थान लाइभ गोली आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । सोही ठाउँस्थित चौताराको मर्मत गर्ने क्रममा उक्त गोली फेला परेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उक्त गोली बरामद गरेको हो । धनकुटा, छथरजोरपाटी गाउँपालिका–३ स्थित चिहानडाँडा जंगलबाट वेवारिसे अवस्थामा रहेको १ थान लोड गरी राखिएको एकनाले भरुवा बन्दुक, बट बिनाको १ थान बन्दुकको नाल र त्यसमा प्रयोग हुने २० थान छर्रा आइतबार बिहान प्रहरीले बरामद गरेको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा उक्त बन्दुक र छर्रा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
गोली प्रहारबाट घाइते
रौतहट, चन्द्रपुर नगरपालिका–३ भोलनटार बस्ने ३५ वर्षीय कुल बहादुर घिसिङ गोली लागेर आइतबार दिउँसो घाइते भएका छन् । सोही ठाउँस्थित जंगलमा बाख्रा चराउन गएको अवस्थामा अचानक बायाँ घुडामुनि गोली लागेर घाइते भई उपचारका लागि आफन्तले नयाँ मेडिकल कलेज चितवनमा लगेको खुल्न आएको छ । हाल उनको अवस्था गम्भीर रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु
नवलपरासी, देवचुली नगरपालिका–२ हमालचोकस्थित सडकमा ना.१ क ३९५३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पावर टेलरमा च्यापिएर मृत्यु
बर्दिया, बारबर्दिया नगरपालिका–१० लम्की फाँटास्थित खेतमा पावर टेलर पल्टिँदा च्यापियर सोही नगरपालिका बस्ने प्रेम चौधरीको ५ वर्षीय छोरा सक्षेंम चौधरीको आइतबार बेलुका मृत्यु भएको छ । उक्त खेतमा सोही नगरपालिका–११ बेलभार बस्ने २० वर्षीय सकेट चौधरीले पावार टेलर सिक्ने क्रममा टेलर पल्टिएर च्यापिँदा टेलरमा बसेका सक्षेंमको मृत्यु भएको हो । चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
धादिङ, गजुरी गाउँपालिका–६ चालिसे दरियाल खोला किनारस्थित सिचाई कुलोमा सोही गाउँपालिका–७ किरानचोक बस्ने २४ वर्षीय अर्जुन श्रेष्ठ आइतबार मृत अवस्थामा फेला परेका छन् । जेठ २० गते घरबाट हराई बेपत्ता भएका श्रेष्ठको उक्त सिचाई कुलोमा पाङगो
माटोले पुरिएको अवस्थामा शव फेला परेको हो ।
बाँके, नरैनापुर गाउँपालिका–५ मटेहियास्थित बाटोको छेउमा पानी जम्मा भएको नालामा सोही ठाउँ बस्ने राम कुमार यादवको छोरा १२ वर्षीय उपेन्द्र यादवको शव आइतबार राति फेला परेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खोलामा डुबेर मृत्यु
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–२ स्थित निकास खोलामा डुबेर सोही नगरपालिका–३ डेरागरी बस्ने ओखलढुङ्गा चिसुङगढी गाउँपालिका–६ घर भएका १९ वर्षीय हिरा बहादुर मगरको आइतबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित सिद्धापाईला कलेजमा मजदुर काम गरी बस्ने हिरा उक्त खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट ट्रक जलेर नष्ट
सोलुखुम्बु, लिखुपिके गाउँपालिका–५ दियाले डाँडास्थित सडकमा ना.७ ख ५३७२ नम्बरको ट्रकमा ब्याट्रिको तार सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा ट्रक पूर्णरुपमा जलेर नष्ट भएको छ । ट्रक चालक बारा जितपुर सिमरा गडिमाई नगरपालिका–१ बस्ने ४६ वर्षीय खड्क
बहादुर सिंहलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कृष्ण मन्दिरबाट मूर्ति चोरी
काठमाडौं, गोकर्णेश्वर नगरपालिका–४ गोकर्ण रमपमचोकस्थित कृष्ण मन्दिरबाट करिब १ फिटको पित्तलको कृष्ण मुर्ति आइतबार चोरी भएको छ । चोरीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले घटनामा संलग्न शंकास्पद ३ जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।







प्रतिकृया