• ३० भदौ २०८३, मंगलबार
  • ५ः०४ बिहान

भूमध्य सागरमा आप्रवासीको दुःखद अवसान, युरोपेली आप्रवासन नीति असफल बन्दैछ

प्रकाशित मिति

२०७८ बैशाख २५ गते, शनिबार ०२:००

रेनाटा ब्रिटो र सामी माग्डी कायरो, २४ बैशाख स् एकसय जना भन्दा बढी अफ्रिकीहरु चढेको रबरको खैरो डुङ्गालाई समुद्रको छालले बेस्सरी हिर्काउन थालेपछि आत्तिएका व्यक्तिले उद्धारको झिनो आशामा आप्रवासीका लागि खोलिएको नम्बरमा डायल गरे ।

National Life

 

 

Classic Tech Mobile
Classic Tech Desktop

यी यात्रीहरु लिबियाबाट युरोप प्रवेश गर्ने लालशामा भूमध्य सागरका छालमा हेलिँदै थिए । अलार्म फोन हटलाइनमा पटकपटक फोन गरेका यी यात्रुहरुले भूमध्य सागर पार गर्नेक्रममा डुङ्गाको इन्धन सकिएको र डुङ्गाभित्र पानी छिर्न थालेपछि यात्रुहरुमाझ तनावको वातावरण सिर्जना भएको बताएका थिए ।

 

अलार्म फोनको हटलाइनमा रहेका कार्यकर्ताहरुले आप्रवासीहरुलाई केही समय धैर्य गर्न भनिरहेका थिए । डुङ्गा रहेको स्थानको जिपिएस कोअर्डिनेट्सका बारेमा आफूहरुले इटाली, माल्टा र लिबियाका सम्बद्ध अधिकारीहरुलाई पटकपटक जानकारी गराइरहेको बताएका थिए । उनीहरुले युरोपेली युनियनको सीमा तथा तटीय सुरक्षा निकाय फ्रोन्टेक्सलाई पनि जानकारी गराए । अन्तर्राष्ट्रिय समुद्री कानुन बमोजिम उद्धार कार्य शुरु होला भन्ने उनीहरुको आशा थियो ।

 

 

अलार्म फोन र गैरसरकारी संस्था एसओएस मेडिटेरियानीका इमेल र विवरणको सूचीका साथै लिबियाली तटरक्षकको प्रतिवेदनले के देखाएका छन् भने सम्पर्क गरिएका सबै निकायले कारबाहीमा ढिलासुस्ती गरेको, सहायताका लागि अपर्याप्त वा कुनै सुनुवाई नै नगरेको प्रस्टै देखिएको छ । समग्रमा, कोही उद्धारका लागि आउला कि भन्ने आशामा रहेका झण्डै १३० जनाको अप्रिल २१ र २२ का दुई दिनभित्रै समुद्रमा डुबेर ज्यान गएको छ । यो ठाउँ लिबियाली तटबाट मुश्किलले ४५ किलोमिटर भित्र जलक्षेत्रमा थियो ।

 

 

भूमध्य सागरमा भएको यो दुर्घटना यस वर्षकै सबैभन्दा भयानक थियो । आप्रवास वा शरणार्थीका रुपमा युरोप प्रवेशको चाहना राखेर भूमध्य सागरमा जोखिमपूर्ण यात्रा गर्नेहरुमध्ये सन् २०१४ यता मात्र २० हजार भन्दा बढीको मृत्यु भइसकेको छ । आपदमा फसेका आप्रवासी चढेका डुङ्गामा रहेकाहरुले जतिसुकै गुहार मागे पनि त्यसलाई सम्बोधन गर्न युरोपेली मुलुकहरु असफल भएको पछिल्लो घटनाले फेरि पुष्टी गरेको छ ।

 

बरु, मानव अधिकारवादी समूहहरु, राष्ट्रसंघीय आप्रवासन तथा शरणार्थी निकायहरु तथा अन्तर्राष्ट्रिय कानुनका विज्ञहरुको भनाईमा युरोपेली देशहरुले पनि प्रायः समुद्रमा अलपत्र परेका आप्रवासीहरुको उद्धार गर्ने अन्तर्राष्ट्रिय दायित्वबाट पनि पन्छिने गरेका छन् । अथवा सीमित क्षमता भएको लिबियाली तट रक्षकहरुलाई स्रोतसाधन उपलब्ध गराउन युरोपेली निकायहरु हच्किने गरेका छन् ।

 

 

युरोप प्रवेश गर्ने चाहनामा रहेका बालबालिका समेतका कैयौं आप्रवासी र शरणार्थीलाई लिबियामा पक्राउ गरेर हिरासतमा राखिएको छ । निकै भिडभाड हुने यी हिरासतमा आप्रवासीहरुले दुव्र्यवहार, यातना, बलात्कार र मृत्युवरण समेत गर्नु परेको छ ।

 

 

हो, युरोपेली मुलुकहरुले नियमित रुपमा संकटमा परेकाहरुलाई उद्धार गरिरहेका हुन्छन् । अप्रिल २१ देखि इटालीका तट रक्षक र नौसैनिकले आफ्नो जलक्षेत्रबाट कम्तीमा १४९ जनाको उद्धार गरेका छन् । यसैबीच, स्पेनी अधिकारीले तीन व्यक्तिलाई बचाउन सैनिक बिमान र हेलिकप्टरका साथै उद्धार जहाज भूमध्य सागरमा पठाएका छन् । यस उद्धार अभियानबाट अप्रिल २६ मा डुबेको डुङ्गामा सवार २४ जनाको शव बरामद गरिएको थियो । यो घटनास्थल केनरी आइल्यान्डबाट करिब ५०० किलोमिटर टाढा समुद्रमा थियो ।

 

 

तर अप्रिल २१ मा कुनै उद्धार कार्य गरिएन । अर्को दिन, एउटा व्यापारिक जहाज र मानवीय उद्धार जहाज ओसन भाइकिङले डुङ्गाको अवशेष फेला पारेका थिए । उनीहरुले समुद्रमा कम्तीमा १० वटा तैरिरहेको देखेका थिए ।

 

 

“समुद्रमा डुबेकामध्ये म पनि एक हुने थिएँ,” लिबियाका २७ वर्षीय मुतावाकेल अलिले हालै मात्र बताएका थिए । उनी र अरु पाँच जना सुडानीहरुले अप्रिल २० मा त्यो डुङ्गा अल–खुम्सबाट चढ्न पाएका थिएनन् । रमजानको एक कार्यक्रममा सहभागी भएका कारण उनीहरुको डुङ्गा केही मिनेटले छुटेको थियो ।

 

 

तर उनका २३ वर्षीय भतिज मुबारक जाबेर भने उम्कन पाएनन् । सात भाइमध्येका जाबेरले विश्वविद्यालयको शिक्षा बीचमै त्यागेर कामको खोजीमा डेढ वर्षअघि लिबियातर्फ लागेका थिए । उनी निर्माणमा काम गर्थे, र सुडानमा आफ्नो परिवारलाई पैसा पठाइरहन्थे ।

 

 

तर यो निकै कम थियो । त्यसैले उनले मानव तस्करसँग सम्पर्क गरे र आप्रवासीको डुङ्गामा चढे । लिबिया, इटाली, माल्टामा रहेका उद्धार तथा समन्वय केन्द्रहरुले डुङ्गामा समस्या परेकाले सहयोग चाहिने बारेमा बिहान ९ बजेर ५२ मिनेटमै अधिकारीहरुलाई जानकारी गराएका थिए ।

 

 

अलार्म फोन र एसओएस मेडिटेरियानाको भनाईमा उनीहरुले माल्टाका अधिकारीहरुबाट कुनै प्रतिक्रिया पाएनन् । सामुद्रिक खोज तथा उद्धारका लागि जिम्मेवारी पाएको माल्टाको सेनाले उक्त घटनाका बारेमा एपीले पटकपटक अनुरोध गर्दा पनि जवाफ दिएन ।

 

 

चार घण्टाभन्दा बढी समय व्यतित भइसकेको थियो, अर्थात् दिउँसोको २।११ मिनेट गइसकेको थियो । अलार्म फोनलाई इटालीका अधिकारीहरुले सम्पर्क गरे, र त्यसका लागि जिम्मेवार निकायसँग सम्पर्क गर्न अनुरोध गरे ।

 

 

झण्डै पाँच घण्टापछि अर्थात् २।४४ मिनेटमा लिबियाली अधिकारीहरुले अलार्म फोनसँग सम्पर्क गरे । उनीहरुले लिबियाली तटीय क्षेत्रमा हराइरहेका तीन वटा डुङ्गाको खोजी गरिरहेको जानकारी गराए, तर उनीहरुले एउटा मात्र जहाज खोजी कार्यमा लगाएका थिए ।

 

 

डुङ्गा दुर्घटना भएको एक दिनपछि लिबियाली तट रक्षकका प्रवक्ता मसुद इब्राहिम मसुदले आफूहरुले १०६ जना आप्रवासी फेला पारेको जानकारी दिए । खराब मौसमका बीच आफूहरुले सक्दो प्रयास गरे पनि युरोपेली युनियनबाट प्राप्त सहयोग अपर्याप्त रहेको मसुदले बताउनुभयो ।

 

 

भूमध्य सागरको हवाई अनुगमन मात्र गर्ने फ्रोन्टेक्सले आफूहरुले इटालीको अनुरोधमा दुई वटा हवाई जहाज पठाएको जनाएको छ । यी विमानहरुले अप्रिल २१ र अप्रिल २२ दिन समुद्रमा डुङ्गाको अवशेष देखिएको बताएका थिए ।

 

 

फ्रोन्टेक्सका प्रवक्ता क्रिस बोरोस्कीले अप्रिल २४ मा आफूहरुलाई प्राप्त जिम्मेवारी पूरा गरेको दाबी गर्नुभयो । तर एसओएसको भनाईमा उद्धारका लागि तत्काल प्रयास र कदम कतैबाट पनि चालिएको देखिएन, सबैले बेवास्ता गरेका थिए ।

 

 

फ्रोन्टेक्सले दुर्घटनाका लागि मानव तस्कर र खराब मौसम मुख्य रुपमा जिम्मेवार रहेको बताएको छ । अप्रिल २१ को रात समुद्रको छाल २ देखि ३ मिटर माथिसम्म उठेका थिए ।

 

 

इटालीका तट रक्षकहरुले उक्त दुर्घटनामा उद्धारको मुख्य जिम्मेवारी लिबियाको हुनु पर्ने बताएका छन् । अन्तर्राष्ट्रिय कानुनका विज्ञहरुले समुद्रमा आपत परेको डुङ्गाको उद्धारका लागि कुनै पनि देशले पहल गर्न सक्ने बताएका छन् । क्वीन मेरी विश्वविद्यालय, लन्डनका प्राध्यापक भायोलेटा ल्याक्स मोरेनोले युरोपेली मुलुकका जिम्मेवार निकायहरुले उद्धारमा भयानक बेवास्ता गरेको बताउनुभयो ।–एपी

प्रतिकृया