ओलीका संभावित ४ महातिक्डम
प्रकाशित मिति
२०७८ बैशाख २५ गते, शनिबार ०२:५७
दिवस गुरागाईं
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बेलामा ( बैशाख २७ गते ) विश्वासको मत लिन संसद अधिबेशन बोलाउने निर्णय गरे, जतिवेला कोभिड १९ को कालो बादलले मुलुकलाई छोपिसकेको थियो । संक्रमित र मृत्यु संख्याले नयाँ–नयाँ रेकर्ड राख्दैगर्दा प्रधानमन्त्रीले संसदमा आफूलाई बाहुबली सिद्ध गर्ने अवसर ठाने ।
प्रधानमन्त्री ओली यस्तो बेलामा संसदको सामना गर्न तम्सिदैछन्, जतिवेला मुलकका अस्पतालहरु कोभिड १९ को संक्रमितले भरिएका छन् । र, थप विरामीकालागि अस्पतालका बेड छैनन् । साथै अक्सिजन अभावमा संक्रमितहरुले ज्यान गुमाइरहेको कारुणिक समाचार आइरहेका छन् ।
यस्तो वेलामा प्रधानमन्त्री संसद जाँदैछन् जतिवेला दुई दर्जनजति सांसदलाई कोभिड १९ को संक्रमण पुष्टि भएको छ । त्यसैगरी उनकै क्याबिनेटका ३ जना मन्त्री संक्रमित भएको समाचार सार्वजनिक भएको छ । साथै ८० प्रतिसत जिल्लामा निशेधाज्ञा जारी भइसकेको छ । अर्थात मुलुक ठप्प भएको छ ।
कोभिड १९ को भरपर्दो रोगथामकालागि भ्याक्सिन नै रामबाण मानिएको छ । तर प्रधानमन्त्रीका विश्वास पात्रको परिचय बनाईसकेका दुई कमिसन एजेन्टका कारण भ्याक्सिन ल्याउन नसकिएको खुलासा हुँदैगर्दा प्रधानमन्त्री संसदमा खरो उत्रन विपक्षी दलको दैलो चाहार्दैछन् ।
मुलुक महामारीको महासंकटमा परेकावेला प्रधानमन्त्रीलाई संसदको विशेष अधिवेशन बोलाउने जाँगर किन चल्यो ? किन ओली विश्वासको मतको नाममा बेमौसमी बाजा बजाउँदैछन् ? ठोकेर भन्न सकिन्छ, उनको कदम देश र जनताको पक्षमा छैन । यसमा छत केवल तिक्डमै तिक्डमको भारी ।
कारणहरुः
कोभिडि १९ को महामारीः सरकारको हिसावमा भन्ने हो भने उसले हात उठाइसकेको छ । सरकार संभावित महामारीको ज्वारभाटा देखि आत्तिएको छ । जुनसुकै विषयमा पनि प्रतिरोधमा उत्रिहाल्ने प्रधानमन्त्री ओली यस विषयमा भने तर्कहीन छन् । केही बर्षदेखि अनावश्यक र अविश्वसनीय घोषणा गर्दै आएका प्रधानमन्त्रीले महामारी सम्बन्धि गरेका कतिपय घोषणाहरुलाई पनि त्यही बृत्तमा राखेर हेरिदैछ ।
महामारीले नागरिक आतंकित भइरहेकावेला त्यसलाई सत्कर्मले समाधान गर्न नसकेपछि भुल्याउने माध्यमको खोजी अन्र्तगत विश्वासको मतको फन्डा आएको सोझो अर्थ लाग्छ, राजनीतिमा । किनभने प्रधानमन्त्रीले विश्वासको मतको धम्की दिनु अघिसम्म सरकार ढाल्ने रणनीतिमा कोही थिएन । भएकाहरु पनि सवै सेलाई सकेका थिए ।
तर, प्रधानमन्त्रीले विश्वासको मतको सिगौरी खेल्नुअघि र पछिको अवस्थामा भने निकै फेरबदल आइसकेको छ । उनले बहुमतकालागि थप १५ भोटको अपेक्षा गरेको जसपा तटस्थ बस्ने निर्णयमा पुगेको छ । पार्टी भित्रको विरोधी गुट नेपाल–खनाल समूह आफूसँगै ओली डुबाउने मौका आएको निश्कर्षमा पुगेको छ । फेरिदो राजनीतिक मौसममा प्रधानमन्त्री ओलीको संभावित कदम के–के हुनसक्छ ?
खासगरी विरोधी वा विपक्षीहरुलाई ईटको जवाफ पथ्थरले दिन माहिर ओलीले संभावित कदम पनि कडैगरी चाल्ने छन् ।
ओलीको अवका संभावित ४ कदम
१. विश्वासको मत नै नलिने
प्रधानमन्त्री केपी शर्मा ओली क्याबिनेटले विश्वासको मत लिन बैशाख २७ गते संसदको विशेष अधिवेशन बोलाउने निर्णय गर्यो । ओली क्याबिनेटको सिफारिस खस्न नपाउँदै विगतमा झैं राष्ट्रपतिले रातो कलम धस्काइ हालिन् ।
तर, यसवीचमा बाग्मतीमा धेरै पानी बगिसकेको छ । ओली पूर्णरुपमा एक्लिएका छन् । विश्वासको मत असफल हुने पक्का पक्की भइसकेको हुनाले उनले विशेष अधिबेशन टार्ने उपाय खोज्ने छन् । विशेष अधिबेशन आह्वान भएपनि उनले विश्वासको मतकालागि संसदमा दर्ता भने गरिसकेका छैनन् ।
सानो गल्ती छोप्न ठूलो गल्ती प्रदर्शन गर्ने ओलीको विगतको फर्मुला यस पटक पनि लाग्ने देखिन्छ ।
के हुनसक्छ उनको नयाँ फन्डा ? उनको अचुक अस्त्र हुनसक्छ, स्वास्थ्य संकटकाल ।
२.विश्वासको मत नपाए अल्पमतको सरकार बनाउने
आफूले विश्वासको मत प्राप्त गर्न नसकेपछि विपक्षीहरुको पल्लाभारी हुन नदिन केसम्म गर्नुपर्छ भन्ने खुरापात ओलीलाई जति अरु कस्लाई थाहा होला र ? गण्डकी र लुम्बिनी प्रदेशको सरकार बचाउन गरिएका जालझेल कसैका नजरवाट छुपेको छैन ।
तर, विश्वासको मत नपाएको खण्डमा प्रधानमन्त्री ओलीले अल्पमतको सरकार वनाउँछन् भन्ने विश्लेषण ‘ओपन सेक्रेट’ नै हो । लुम्बिनी प्रदेशको मोडलमा उनले पुनः सपथ लिने छन् । यसकालागि राष्ट्रपतिले अग्रिम ‘माइन्ड मेक’ गरिसकेको हुुनुपर्छ ।
३. स्वास्थ्य संकटकाल लगाउने
स्वास्थ्य संकटकाल प्रधानमन्त्री ओली सरकारको राम्रो ‘लाइफ लाइन’ हो । यसलाई कतिवेला प्रयोग गर्ने भन्ने जानकारी प्रधानमन्त्री ओलीलाई भलिभाती छ । विश्वासको मत टार्नेवेला वा अल्पमतको सरकारको आयु बढाउने वेलामा संकटकालको अस्त्र फ्याँकिने छ । स्वास्थ्य संकटकाल ओलीको अचुक अस्त्र हो ।
४. पुन चुनावको मिति तोक्ने
साथै संसदमा दुई वा दुईभन्दा बढी दलका सांसदहरु मिलेर बहुमत पुर्याउने अवस्था छैनभन्दै ओलीले चुनावको मिति तोक्न सिफारिस गर्न सक्छन् । ओलीको सिफारिसलाई राष्ट्रपतिले आँखा चिम्लेर अनुमोदन गर्ने पक्का छ ।
विश्वासको मत लिनेक्रममा विपक्षीहरुलाई प्राप्त ( सरकार बनाउन अपुग ) मतको आधार लिएर उनले चुनावको अर्को मिति तोक्ने छन् । यो आधार उनकालागि किन ‘स्ट्रोङ’ हुन सक्छ भने उनको विपक्षमा बहुमत पुग्नेगरी मत खस्ने छैन । राजपा तटस्थ बस्ने र माधव–खनाल समूहले सरकार यसै ढल्छ भन्ने निश्कर्ष निकाल्दै ‘फ्लोर क्रस’ गर्ने छैनन् ।
मैदानमा अरुपनि खेलाडी छन्
प्रधानमन्त्रीले अवका दिनमा चाल्न सक्ने संभावित ४ स्टेपले विपक्षीहरुको हुर्मत लिन्छ । तर के राजनीतिक मैदानमा उनी मात्रै सक्रिय छन् त ? पक्कै पनि उनलाई बाटो ढुकेर बस्नेहरुको कमी छैन । त्यसकारण यी संभावित ४ स्टेपलाई फेल खुवाउन विपक्षीहरु सक्रिय हुने छन् ।
विपक्षीले प्रधानमन्त्रीलाई रोक्न सक्ने अस्त्र, अविश्वासको प्रस्ताव दर्ता हो । उनले विश्वासको मत लिनुअघि नै अविश्वासको प्रस्तावदर्ताको प्रक्रिया सुरु भयो भने त्यो अनौठो हुनेछैन ।
तर, प्रधानमन्त्री ओलीसँगजति विपक्षीहरुसँग धेरै अस्त्र छैनन् । विपक्षीहरुसँग संविधान छ । ऐन–कानुन छन् । संसदीय मर्यादा छ । विभिन्न नजिर पनि छन् ।
त्यसोभए प्रधानमन्त्रीसँग के छ त ? जवाफ हो, राष्ट्रपति । राष्ट्रपतिकै बलमा ओलीले खेला देखाउने छन्, लुम्बिनी प्रदेशमा जस्तै । र, विपक्षीहरु हेरेका हेरै हुनेछन् विगमा झैं ।






प्रतिकृया