• 9:24 pm

एमाले–कांग्रेस नेताहरुबीच भेटवार्ता सम्पन्न, विश्वासको मत नदिने कांग्रेसको जवाफ

प्रकाशित मिति

२०७८ बैशाख २२ गते, बुधबार ०८:५०

काठमाडौं :  नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरुबीचको भेटवार्ता सम्पन्न भएको छ । देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्ता भर्खरे सम्पन्न भएको हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएका छन् ।  यही सन्दर्भमा प्रधानमन्त्री ओली आफ्ना पार्टीका शीर्ष नेताहरु लिएर देउवा निवास पुगेका थिए । उनीहरुबीच करिब २ घण्टा भेटवार्ता भएको थियो ।

 

भेटवार्ताबारे जानकारी दिँदै कांग्रेस सहमहामन्त्री डा. प्राकशशरण महतले भने–‘प्रधानमन्त्रीले विश्वासको मत लिन कांग्रेसको सहयोगको अपेक्षा गर्नुभयो ।  हामी विपक्षी पार्टी हौं, हामीले सहयोग गर्ने अवस्था छैन भन्यौं ।  अहिले कोभिडको महामारी व्याप्त छ, जनता कठिन अवस्थामा छन् । जनता उपचार नपाएर पीडामा छन् ।

 

पीडाबाट मुक्त गर्नुभयो, हरसम्भव सरकारले प्रयत्न गर्नुपर्छ ।  विपक्षी दल भएपनि हामी सहकार्य गर्छौं । भ्याक्सिनको कुरामा अहिले धेरै कुरा आएका छन् ।  विचौलियाको कुरा आएका छन् । यी कुरालाई पनि हामीले उठायौं । संसद छलेर अध्यादेश आएको कुरा पनि गम्भीर रुपमा उठायौं ।

 

प्रधानमन्त्रीसँगको भेटवार्तामा आफूहरुले वर्तमान सरकारले लोकतान्त्रिक संस्थाहरुलाई कमजोर पार्ने काम भएको विषय पनि उठाएको सुनाए । उनले भने,‘हामीले लुम्बिनी र गण्डकीको उदाहरण दियौं । प्रधानमन्त्रीले लोकतन्त्रको लागि हिजो कांग्रेस र एमालेले सँगै लडेको भन्नुभयो । तर, हामीले त त्योअनुसार व्यवहारमा आउनुपर्यो भन्यौं ।

प्रतिकृया