• ३० भदौ २०८३, मंगलबार
  • ९ः१८ राती

ओलीले विश्वासको मत लिने भएपछि देउवाले बोलाए पदाधिकारीको आकस्मिक बैठक

प्रकाशित मिति

२०७८ बैशाख २० गते, सोमबार ०८:३४

काठमाडौं :  नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमबार दिउँसो बस्दैछ । बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख २७ गते विश्वासको मत लिने जनाउँदै बजेट अधिवेशन बोलाएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको हो । बैठकमा वर्तमान पदाधिकारीहरु तथा पूर्व पदाधिकारीहरु सहभागी हुनेछन् ।

National Life

 

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भनिए पनि विश्वासको मत पाउने सम्भावना कम रहँदा रहँदै ओलीले मध्यावधि निर्वाचन गर्ने रणनीति बुनेको अवस्थामा त्यसलाई समेत मध्यनजर गरी सोमबारको बैठकमा विशेष छलफल हुने बुझिएको छ । ओलीले संसदमा विश्वासको मत लिने भनी आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा जानकारी गराएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

 

ओलीको सिफारिस अनुसार भण्डारीले प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि बैशाख २७ गते सोमबार दिउँसो १ बजे बैठक आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।प्रधानमन्त्री ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेको उल्लेख गरेकी छिन् ।

 

गत फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेकपालाई भंग गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पुर्याइदिएको थियो । त्यसपछि दुई महिना बितिसक्दा पनि माओवादीले अहिलेसम्म ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । ओलीले गत पुस ५ गते संसद विघटन गरेकामा सर्वोच्चले फागुन ११ गते पुनःस्थापना गरिदिए पनि अहिलेसम्म ओलीले विश्वासको मत लिएका छैनन् ।

 

यसबीचमा प्रतिपक्षी कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि पहल गरे पनि त्यसलाई देउवाले तीव्र गतिमा अगाडि बढाउन सकेका थिएनन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिनु र जनता समाजवादी पार्टी दुई खेमामा रहेर हिँड्दा पनि समस्या परेको बताइन्छ ।

 

अहिले आएर ओलीले विश्वासको मत लिन खोज्दा कांग्रेस सशंकित बनेको छ । ओलीले बहुमत पुर्याउन सक्ने आधार केही नहुँदा र एमालेसमेत दुई खेमामा स्पष्ट देखिएका बेलामा ओलीले विश्वासको मत लिन खोज्नु असफल भए पनि कामचलाउ कै रुपमा मध्यावधि निर्वाचन गर्न खोजेको रुपमा बुझ्न थालिएको छ । यही परिस्थिति हो भने कांग्रेस कसरी अगाडि बढ्ने भनेर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

प्रतिकृया