संरक्षित वन्यजन्तु सालकको खपेटा सहित २ जना र काठ चोरी निकासी मुद्दाका फरार प्रतिवादी पक्राउ
प्रकाशित मिति
२०७८ बैशाख १३ गते, सोमबार ०६:४३
काठमाडौं महानगरपालिका. ६ बौद्ध कपन सरस्वतीनगरबाट १ किलो ८ सय ग्राम तौलको संरक्षित वन्यजन्तु सालकको खपेटा सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ थाक्रे गाउँपालिका .३ डाँडाखर्क बस्ने ३० वर्षीय कुल बहादुर तामाङ र सोही ठाउँ बस्ने २० वर्षीय जयराम तामाङ रहेका छन् । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो । बरामद खपेटा सहित उनीहरुलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं बुझाइएको उक्त व्यूरोले जनाएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवैध रुपमा सालको काठ चोरी निकासी गरी चिरान गर्न लगाउने मुद्दाका फरार प्रतिवादी पर्सा ठोरी गाउँपालिका(४ आठघरे टोल बस्ने ३५ वर्षीय लेखे भनिने लेख बहादुर श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं, काठमाडौं महानगरपालिका बौद्धबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार बारामा बुझाइएको उक्त व्यूरोले जनाएको छ ।



प्रतिकृया