वामपन्थीलाई एकताबद्ध हुन प्रचण्डको अपील
प्रकाशित मिति
२०७८ बैशाख ९ गते, बिहीबार ०९:३०
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुन अपील गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा प्रचण्डले प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुँदै प्रतिगमनविरुद्धको अभियानमा सहभागी हुन विज्ञप्ति जारी गर्दै अपील गरेका हुन् ।

देशको आर्थिक विकास, समृद्धि र समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन तथा कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरुको ऐक्यबद्धता अहिलेको ऐतिहासिक आवश्यकता भएको प्रचण्डको भनाइ छ ।

कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टीभित्रका विकृति-विसंगतिलाई किनारा लगाउने गरेको र ती विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृत्तिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेको उल्लेख गर्दै प्रचण्डले त्यसको पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृत्ति देखापरेको जनाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस एवम् लेनिन जयन्तीको अवसरमा सबैलाई शुभकामना दिंदै प्रचण्डले शहीदहरुमा श्रद्धाञ्जली, बेपत्ता योद्धाहरुमा सम्मान र घाइते योद्धाहरुको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।




प्रतिकृया