• २५ भदौ २०८३, बिहीबार
  • १०ः०८ राती

‘सरकारलाई ठाकुरको साथ’

प्रकाशित मिति

२०७८ बैशाख ९ गते, बिहीबार ०९:४५

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई साथ दिने निष्कर्षमा पुगेका छन्।

National Life

जसपाले राखेका मागलगायत विषयमा मंगलबार प्रधानमन्त्री ओलीसँग भएको छलफलपछि ठाकुर यस्तो निष्कर्षमा पुगेको उनी निकट नेताहरूको दाबी छ। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवलगायतको समूह भने कुनै पनि अवस्थामा ओली नेतृत्वको सरकारलाई साथ दिन नहुने पूर्ववत् अडानमा कायमै छ।

अध्यक्ष ठाकुरले मंगलबार प्रधानमन्त्री ओलीसँग करिब तीन घण्टा छलफल गरेका थिए। भेटमा जसपाका नेता सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण पनि सहभागी थिए। उनीहरू दुवैजना ठाकुर निकट मानिन्छन्। शुक्ल र कर्ण जसपा–सरकार संयुक्त कार्यदलका सदस्य पनि हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्रीसँगको भेटमा जसपाले राखेका मागसम्बन्धमा बुँदागत छलफल भएको नेताहरूले बताएका छन्। जसपाका ५ वटै माग पूरा गर्न प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको र केही माग पूरा गर्ने प्रक्रिया समेत अघि बढाएको ठाकुर निकट नेता डा। सुरेन्द्र झाले बताए।

सरकारले माग पूरा गर्न प्रक्रिया अघि बढाइ रहेका बेला जसपा सरकार विरोधी गठबन्धनमा नलाग्ने सहमति भएको जानकारी उनले दिए। उनले एमालेसँग सत्ता सहकार्य हुन सक्ने समेत बताए। ‘हाम्रा माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ। राजनीतिमा अनुहार हेरिन्न, अवस्था हेरिन्छ’, झाले भने, ‘त्यसैले एमालेसँग सहकार्य हुन सक्दैन भन्ने अवस्था छैन।’

वार्तामा कुनै लिखित सहमति भने भएको छैन। मौखिक रूपमा प्रधानमन्त्रीले माग पूरा गर्ने र ठाकुरले वर्तमान सरकारलाई साथ दिने सहमति भएको जसपा स्रोतले बतायो। ओलीले ठाकुरसँग सत्ता सहकार्य गर्न प्रस्ताव राखेका थिए।

(नागरिक दैनिक)

प्रतिकृया