• ४ साउन २०८३, सोमबार
  • १:५४ बिहान

राजनीतिमा केसम्म हुन सक्छ रातारात ?

प्रकाशित मिति

२०७८ बैशाख ८ गते, बुधबार ०७:१६

काठमाडौँ : भारतीय फिल्ममा झैं लुम्बिनी प्रदेशमा मन्त्री नियुक्त भएका छन् । मधेस आन्दोलनबाट ७ बर्षयता राजनीतिमा उदाएका लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष पान्डे दिउँसो १ बजेसम्म भैरहवाको होटल मौर्यामा जनता समाजवादी पार्टीका नेता सहसराम यादवसहित कांग्रेस र माओवादीका शीर्ष नेताहरुसँगै थिए ।

बैठकमा काँग्रेस नेता बालकृष्ण खाणसहित प्रदेशमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने साँसदहरु, माओवादीका वर्षमान पुनसहित प्रदेशका सबै सांसद र जसपाका कल्पना पान्डेबाहेक सहभागी थिए । शीर्ष नेतृत्वको रोहबरमा लुम्बिनी प्रदेशसभा सदस्यका रुपमा रहेका कांग्रेस,माओवादी र जसपाकाले मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा रहेको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेगरी हस्ताक्षर गरे ।

Kamana Sewa

४१ जनाको हस्ताक्षरपश्चात सरकारमा सहभागी माओवादी केन्द्रका कुलप्रसाद केसी र सुदर्शन बरालले राजीनामा दिए । दिउँसो अविश्वासको प्रस्ताव दर्ता भयो । भैरहवाको होटल मौर्यामा कांग्रेस, माओवादी र जसपाका नेताहरुले मन्त्रीको सूची तयार गरे । जसअनुसार माओवादीले मुख्यमन्त्रीसहित सरकारको नेतृत्व गर्ने र कांग्रेसले ४ तथा जसपाले ३ मन्त्रालय र एक विकास समितिको सभापति पाउने सहमति भयो ।

Classic Tech Desktop

मन्त्री बन्ने सूचीमा जसपाबाट दलका नेता सहसराम यादव, सन्तोष पान्डे र विजय यादव थिए । यसैगरी कल्पना पान्डे र सुमन रायमाझी मध्ये एकजना राज्यमन्त्री र अर्को एकजना बिकास समिति सभापति बन्ने तय भयो ।

हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्तासमेत भइसकेको अवस्थामा नयाँ सरकारको संरचना बनिरहेको बेला मुख्यमन्त्री शंकर पोखरेल भने काठमाडौंमै थिए । बालुवाटारको बैठकमा सहभागी भइरहेका पोखरेल सरकारविरुद्ध प्रस्ताव दर्ताको खबरसँगै बैठक छाडेर काठमाडौंबाट हतारमा प्लेनमार्फत भैरहवा ओर्लिए ।

पोखरेलले खबर पाउनासाथ बैठकमै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त सूचना गरेका थिए । त्यसपछि प्रम ओलीले तुरुन्त जसपा अध्यक्ष महन्थ ठाकुरलाई फोन गरी आफूहरुले रेशम चौधरी लगायतलाई जेलमुक्त गर्ने प्रक्रिया अगाडि बढाएको,राजनीतिक समीकरण फेरबदल हुँदा तपाईलाई प्रधानमन्त्री बनाउने तयारी गरिरहेको बेला लुम्बिनीमा साथ किन छाड्न खोजेको भनेर कड्किए ।

आफ्नो गुटमा रहेकी कल्पना पान्डेले हस्ताक्षर नगरेको तर उपेन्द्र यादव र बाबुराम भट्टराईका मान्छेले हस्ताक्षर गरेको महन्थले बताएपछि ओलीले नरम हुँदै सहयोग गर्न अनुरोध गरे । त्यसपछि शंकर पोखरेल बालुवाटारको अनुमतिमा लुम्बिनी प्रदेश सरकार बचाउन बैठक छाडेर बुटवल फर्किए।

दिउँसो १ बजेर १५ मिनेटमा अविश्वास प्रस्ताव दर्तासँगै सरकार परिवर्तनसहित नयाँ मन्त्रीको सूची तयार हुँदै गर्दा भैरहवाका स्थानीय बासिन्दा सन्तोष पान्डे भने केहीबेर बाहिर काम छ भनेर निस्किए । सबै नेता आ(आफ्नो धुनमा थिए । तर कांग्रेस, माओवादी र जसपा नेताहरु ३ बजे भने छाँगाबाट खसे झैँ भए ।

नयाँ मन्त्रीको सपथ ग्रहण ४ बजे प्रदेश प्रमुखले गराउने खबर फैलियो । एकछिन होटल मौर्याको बैठक कक्षमा रहेका नेताहरु आश्चर्यमा परे । हल्ला हो कि भन्ने भयो, पछि बुझ्दा थाहा भयो अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सचेतक सन्तोष पान्डे, बिजय यादव, कल्पना पान्डे र सुमन रायमाझीले मुख्यमन्त्रीलाई भेटेर मन्त्री बन्ने निधो गरेछन् । दलका नेता सहसराम यादव भने होटल मौर्यामा कांग्रेस, माओवादीका नेताहरुसंगै योजना बनाइरहेका थिए । उनीहरु चारैजनाको मोबाईल अफ थियो ।

केहीबेरमा पाण्डेसहितका चार जनाले मन्त्रीको सपथ ग्रहण गरेको सहसरामले कांग्रेस,माओवादीका नेतासँगै बसेर हेरिरहे । होटलमा सन्नाटा छायो । लाइन बिपरित गएको भन्दै उपेन्द्र यादव, बाबुराम भट्टराई र राजेन्द्र महतोले कारबाही गर्न र मन्त्रीबाट राजीनामा दिन २४ घन्टे अल्टिमेटम दिन निर्देशन दिए । सोहीअनुसार जसपा प्रदेश अध्यक्ष अशोककुमार यादवले विज्ञप्ति निकाली तत्काल सरकार छाड्न निर्देशन दिए । २४ घन्टा नबित्दै जसपा रुपन्देहीबाट पार्टी निर्णय बिपरित मन्त्री भएकाहरुलाई बहिस्कार गर्न भन्दै रामअवतार यादवले विज्ञप्ति निकाले ।

तर मन्त्रीको सपथ ग्रहणपश्चात कारबाही भोग्ने तर मन्त्रीबाट राजीनामा नदिने मनसायका साथ सन्तोष, बिजय, कल्पना र सुमन अगाडि बढेको देखिन्छ । स्रोतका अनुसार मन्त्रीको लागि २ महिनादेखि मुख्यमन्त्री पोखरेलसँग बार्गेनिङ गरिरहेका सन्तोषले हिजो मात्रै रकम बुझेको र रोजेको मन्त्रालय पाउने शर्तमा पोखरेललाई मुख्यमन्त्री टिकाउन सहयोग गरेको चर्चा छ ।

(जनआस्था साप्ताहिक)

प्रतिकृया