टियु मैदानमा नेपालले अपरान्ह मलेसियासँग खेल्दै
प्रकाशित मिति
२०७८ बैशाख ६ गते, सोमबार ०९:०७
काठमाडौँ – त्रिकोणात्मक टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत घरेलु टोली नेपालले आफ्नो दोस्रो खेलमा आज मलेसियासँग खेल्दै छ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल अपरान्ह १ः१५ बजे सुरु हुनेछ। यो खेलमा जित हात पारे नेपाललाई शीर्ष दुईमा रहन सहज हुने छ।
खेलमा नेपाललाई मनोवैज्ञानिक ‘एड्भान्टेज’ हुनेछ। नेपालसँग ९ विकेटले पराजित भएको नेदरल्याण्ड्सले आइतबार मलेसियालाई १५ रनले पराजित गरेको थियो। ७९ रनमा ५ विकेट गुमाएको अवस्थामा पनि मलेसियाले एक सय ९२ रनको लक्ष्य पूरा गर्ने हिम्मत गरेको थियो। उसका मध्यक्रमका विरन्दिप सिंहले ८७ र सर्भिन मुनाइन्दीले २८ रन बनाएका थिए।
यसअघि नेदरल्याण्ड्सलाई नेपालले एक सय ३६ रनमा सीमित गरेको थियो भने पाँच ओभरको खेल बाँकी रहँदै जित हात पारेको थियो।प्रारम्भिक ब्याट्सम्यानद्वय आसिफ शेख र कुशल भुर्तेलले शानदार प्रदर्शन गरेका थिए। डेब्यु टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा यी दुवै ब्याट्सम्यानले आक्रमक ब्याटिङ गरेका थिए।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका एसोसिएट सदस्यमध्ये बलियो मानिने नेदरल्याण्ड्सविरुद्ध प्राप्त सफलताले नेपालको आत्मविश्वास बलियो बनेको छ। त्यस खेलमार्फत नेपालले टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारीका रुपमा राष्ट्रिय कीर्तिमान बनाएको थियो भने विकेटका हिसाबले फराकिलो अन्तरले जित हात पार्ने राष्ट्रिय कीर्तिमान पनि बराबरी गरेको थियो।
यसैगरि कुशल भुर्तेल डेब्यु टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा सर्वाधिक रन बनाउने नेपाली खेलाडीका रुपमा राष्ट्रिय कीर्तिमान पनि बनाउन सफल भएका छन्।डबल राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली आगामी शनिबार प्रतियोगिताको उपाधिका लागि भिड्ने छन्।
(तस्बिरः नेपाल क्रिकेट संघ ,क्यान)






प्रतिकृया