• 10:19 pm

म प्रधानमन्त्री पदका लागि लालायित छैन, नेतृत्व गर्नुपर्ने अवस्था आयो भने पछाडी हट्दैनौं: देउवा

प्रकाशित मिति

२०७८ बैशाख ५ गते, आईतवार ०१:२७

काठमाडौं: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् ।  श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जन जातीय संस्कार र संस्कृति विमोचन गर्दै देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका हुन् । तर नेपाली काँग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति आए पछि नहट्ने बताए ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निउ नखोज्ने पनि सभापति देउवाले बताए । आफुहरु प्रधानमन्त्रीका लागि मरिमेटेर नलाग्ने उनको तर्क छ । उनले भने, ‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिनु भएको छैन । त्यस कारण सरकार बहुमतकै छ। बहुमतको सरकार भएको बेलामा हामीले अरु कुनै कुरा किन सोच्ने?   हामीले बहुमतकै सरकार मानेका छौँ । बहुमतको सरकारमा हामीले निउँ खोज्ने कुरा छैन । प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा पनि छैन । हामी प्रधानमन्त्री पदको लागि लालायित छैनौं । तर राजनीतिक परिस्थितिबाट  नेतृत्व गर्नुपर्ने अवस्था आयो भने हामी पछाडी हट्दैनौँ ।’

सभापति देउवाले वर्तमान राजनीति तरल अवस्थामा रहेको भन्दै स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताए । सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने विश्वास पनि सभापति देउवाले व्यक्त गरे ।

प्रतिकृया