• ३ साउन २०८३, आइतबार
  • ३:५२ बेलुका

लोकतन्त्र जोखिममा परेको छः वरिष्ठ नेता पौडेल

प्रकाशित मिति

२०७७ चैत्र १९ गते, बिहीबार ०६:३२

चितवन : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देश, लोकतन्त्रलाई जोखिममा पार्ने तथा पहिचान र संस्कार मेटाउने काम भएको बताएका छन्। कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको सातौँ दिनको पुण्यतिथिमा देवघाटमा बिहीबार आयोजित अस्तु विसर्जन एवं श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको अनिश्चितताको कालो बादलका कारण देश कहाँ जान्छ भन्न नसकिने अवस्थामा पुगेको धारणा व्यक्त गरे।

 

Kamana Sewa

उनले भने, ‘देशमा अहिले अनिर्णयको कालो बादल छाइरहेको छ। लोकतन्त्रमाथि अनिष्ट हुने खतरा छ।’ अहिले सबैतिर चिन्ता छाएको हुनाले सबै सजग भएर विखण्डनको धारणा राख्नेलाई विकल्प दिनुपर्ने उनको जिकिर थियो। देशमा जोशीजस्ता योग्य र इमान्दार नेताको खाँचो रहेको नेता पौडेलले बताए। उनले भने, ‘जोशी एक योग्य र इमान्दार नेता हुनुहुन्थ्यो । अब यस्ता नेताको पूर्ति कसरी गर्ने।’ कांग्रेसले एक कुशल नेता गुमाउनुपरेकामा दुःख लागेको नेता पौडेलले बताए। नेता जोशीले देश र जनतालाई आफूभन्दा माथि राख्दै काम गरेको भन्दै उनले जोशीको समर्पणलाई पूरा गर्नु कांग्रेसको जिम्मेवारी रहेको बताए।

Classic Tech Desktop

 

कार्यक्रममा कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, गलेश्वर आश्रमका पीठाधीश १००८ स्वामी आत्मानन्द गिरिजी महाराज, गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, पूर्वमन्त्री यज्ञबहादुर थापा, तनहुँ कांग्रेस सभापति वैकुण्ठ न्यौपाने, नवलपुरका सभापति विष्णु लामिछाने, गुल्मीका सभापति भुवन श्रेष्ठ, धादिङका सभापति रमेश धमलालगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमपश्चात् कांग्रेसका वरिष्ठ नेतासहितको उपस्थितिमा जोशीको अस्तु उनका दाजु राजुराज जोशीले देवघाटको वेणी संगममा विसर्जन गरेका छन्। जोशीको आमाको चाहनाअनुसार देवघाटमा अस्तु विसर्जन गरिएको हो।

प्रतिकृया