रेडपाण्डाको छाला र पासो सहित ३ जना पक्राउ
प्रकाशित मिति
२०७७ चैत्र ११ गते, बुधबार ०६:३८
सोलुखुम्बु महाकुलुङ गाउँपालिका-३ मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र बफरजोनबाट रेडपाण्डाको ७ थान छाला र रेडपाण्डा मार्न प्रयोग गरिने ५ थान पासो सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महाकुलुङ गाउँपालिका- २ का जगत बहादुर राई, सोही गाउँपालिका-३ का मितुरधन राई र ५६ वर्षीय कविराखर राई रहेका छन् ।
बफरजोनभित्र वन्यजन्तु चोरी शिकारी तथा तस्करी भईरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनीहरूलाई छाला र पासोसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै नियन्त्रित लागूऔषध सहित तनहुँको बन्दिपुर गाउँपालिका -५ मर्स्याङ्दी रिसोर्टबाट १ जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रित लागूऔषध २३ एम्पुल फेनारगन, २३ एम्पुल डाइजेपाम र २३ एम्पुल नुफिन सहित शुक्लागण्डकी नगरपालिका- ९ दुलैगौडाका तेन्जिङ चोईनीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई जाँच गर्नेक्रममा लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा परी मृत्यु
दाङ, घोराही उपमहानगरपालिका-१७ स्थित ना.५ ख २०६२ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्री सोही उपमहानगरपालिका-३ झिङ्नी बस्ने कलौ भन्ने बिष्णु चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
ट्रक चालक राप्ती गाउँपालिका -६ का प्रेम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी दाङ, घोराही उपमहानगरपालिका-७ जबरपुरस्थित सडकमा रोकी राखेको ना.४ ख ८३३७ नम्बरको ट्रकमा रा.४ प ४९१४ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक रबिन डाँगीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका रबिनको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सिरिन्ज भण्डारीको उपचार भईरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै नवलपरासी पूर्व, हुप्सेकोट गाउँपालिका-२ दन्दरस्थित सडकमा लु।१ क ३९९९ नम्बरको बसको ठक्करबाट ३ वर्षीय कृष परियारको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार रहेका बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
चट्टयाङ लागेर मृत्यु
बागलुङ्, बडिगाड गाउँपालिका-८ नेताखर्कका ९ वर्षीय खिमे सुनारको मंगलबार साँझ चट्टयाङ लागेर घटनास्थलमै मृत्यु भएको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
सिन्धुली, गोलञ्जोर गाउँपालिका-६ घोक्सिलाका नर बहादुर दमाईको घरमा आगलागी हुँदा करिब ७ लाख २८ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।







प्रतिकृया