सोमबारदेखि केरुङ नाका सञ्चालनमा आउँदै
प्रकाशित मिति
२०७७ फाल्गुन १६ गते, आईतवार ०३:२९
काठमाडौं : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो । सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनःसञ्चालनमा आउन लागेको हो ।
“सोमबारदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको छ, प्राविधिक कारणले एक-दुई दिन विलम्ब भए पनि यो साताभित्र केरुङ नाका सञ्चालनमा आउँछ”, परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भने ।
रसुवा जिल्ला कोरोनामुक्त भइसकेको र भन्सार कार्यालय, सुरक्षा निकाय, ट्रक चालक र श्रमिकले कोरोनाविरुद्धको खोप लगाइसकेकाले महामारीको जोखिम नगण्य रहेको वास्तविकता चीनलाई बुझाउन तथा स्वास्थ्य जोखिम नरहेको विषयमा विश्वस्त पार्न परराष्ट्र मन्त्रालय र ल्हासास्थित महावाणिज्य दूतावासले निकै मेहनत गर्नुपरेको थियो ।
केरुङ नाका नखुल्दा आयात–निर्यात ठप्प भएको छ कोभिड–१९ ले थिलथिलो पारेको मुलुकको अर्थतन्त्रलाई अझ कमजोर पारेको छ भने राज्यलाई दैनिक दुई करोडभन्दा बढी राजस्व योगदान गरिरहेको उक्त अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्द भएपछि राज्यलाई घाटामात्र भएको छैन स्थानीय तथा नाकामा कारोवार गर्ने व्यापारीलाई समेत रोजी–रोटीको चिन्ता बढेको थियो ।
रसुवागढी भन्सारका कोरोना पोजिटिभ देखिएका मजदूर सङ्क्रमणमुक्त भइसकेको तथा उनीहरूले खोपसमेत लगाइसकेको सन्देश चिनियाँ अधिकारीलाई पुर्याउन नसकिएको दुखेसो गर्छन् कार्यालयका प्रमुख रामप्रसाद रेग्मी ।
“माघ २९ गतेदेखि बन्द नाका खुलेको छैन, त्यसअघि उताबाट आएका पाँचवटा मालवाहक गाडी पास हुन्थे, हाम्रा उत्पादनको निर्यात ठप्प भएको छ”, गत भदौदेखि १६ घण्टा काम गर्ने सहमति भए पनि त्यसो नभएको सुनाउँदै उनले भने । पन्ध्र श्रमिक र ३५ जना ट्रक चालकमात्र होइन भन्सार कार्यालयसँग सम्बद्ध सुरक्षा निकायसहित सबै कर्मचारी कोरोनामुक्त रहेका उनको कथन छ ।








प्रतिकृया