एजेन्सी: कासिमेरोको निर्णायक गोलको मद्दतले रियल म्याड्रिडले रियल भालाडोलिडलाई हराउँदै शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँगको दुरी तीन अंकमा झार्न सफल भएको छ। खेलको ६५ औँ मिनेटमा कासिमेरोको एक मात्र गोल खेलमा निर्णायक बन्यो।
ब्राजिलियन मिडफिल्डरले त्यसअघि गोलका दुईवटा सुन्दर अवसर गुमाएका थिए । लिगमा यो सिजन उनको पाँचौ गोल हो । उता, मारियानो डियाजले दुई पटक गोल गरेपनि त्यसलाई अफसाइड करार गर्दै रद्द गरिएको थियो ।
गोलकिपर थियाबट कोर्टवाले फाबियन ओरेलाना र साइदी जांकोको प्रहारलाई बचाऊ गरेका थिए । रियल यतिबेला चोटग्रस्त खेलाडीको समस्याले ग्रस्त रहेको छ । कप्तान सर्जियो रामोशसँगै एडिन हजार्ड, मार्सेलो, ड्यानी कार्भाहाल र करिम बेन्जेमा घाइते रहेका छन् ।
जीतसँगै २४ खेलबाट ५२ अंक बटुल्दै रियल लिगको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको एथ्लेटिको भने आफ्नो घरेलु मैदानमा लेभान्तेसँग स्तब्ध बन्यो । खेलको ३० औँ मिनेटमा लुइस मोरालेसको प्रहार एथ्लेटिकोका खेलाडीलाई लाग्दै गोलमा परिणत भयो भने जोर्ज डे फ्रुटोसले स्टपेज टाइममा गोल गर्दै लेभान्तेको जीत सुनिश्चित गरे ।
खेलमा एथ्लेटिकोले विपक्षीको पोष्टमा २८ पटक प्रहार गरे पनि गोलकिपर कार्डेनासले त्यसलाई विफल बनाएका थिए । २३ खेलबाट एथ्लेटिकोको ५५ अंक रहेको छ ।
अन्य खेलमा भ्यालेन्सियाले सेल्टाभिगोलाई २–० ले हरायो भने इल्चेले इबारमाथि १–० को जीत निकाल्यो । -एजेन्सी
प्रतिकृया