चिनौं डाइरेक्ट सेलिङलाई
प्रकाशित मिति
२०७७ फाल्गुन ८ गते, शनिबार ०९:२७
डाइरेक्ट सेलिङ भन्नाले उत्पादक कम्पनी वा वितरक कम्पनीबाट उपलव्ध वस्तु प्रत्यक्ष रुपमा उपभोक्तालाई बिक्री वा वितरण गर्ने कार्य भन्ने बुझिन्छ । विश्वमा डाइरेक्ट सेलिङको इतिहास सन् १८८३ मा जर्मनबाट सुरु भएको पाइन्छ ।
तर विविध कारणले सन् १९७५ देखि १९७९ सम्म नाम मात्रको सामान देखाएर पैसा संकलन गर्ने तथा पैसा मात्र संकलन गर्ने तर कुनै पनि सामान नदिने जस्ता क्रियाकलाप बढी भएकाले यो क्षेत्र केही समय विवादित बनेको समेत देखिन्छ । तर पछि सन् १९७९ मा अमेरिकाको फेडरल ट्रेड कमिशनले पिरामिड स्किम र डाइरेक्ट सेलिङको स्पष्टता खुलाई कानुन बनाइसकेपछि मात्र आधिकारिक रुपमा डाइरेक्ट सेलिङ अघि बढेको हो।

त्यसपछि युरोप, अमेरिका र एसियाका केही मुलुकहरुमा समेत यससँग सम्बन्धित कानुनहरु बनी डाइरेक्ट सेलिङ व्यवस्थित रुपमा विकास भएको देखिन्छ । हाम्रो छिमेकी मुलुक चीनमा सन् २००५ अनि भारतमा सन् २०१६ मा कानुन बनी यो व्यवसाय व्यवस्थित भइसक्दा हाम्रो मुलुकमा भने वि.सं. २०७४ मा ऐन तथा २०७६ मा नियमावली आएपछि गत असारबाट मात्र सुरु भएको पाइन्छ। त्यसैले नेपालको लागि यो नयाँ सम्भावनाको क्षेत्र नै मान्न सकिन्छ ।
आज विश्वमा उत्पादक कम्पनीबाट उत्पादित वस्तुहरु उपभोक्तासम्म पुर्याउने विभिन्न प्रणालीहरु विकास नभएका होइनन् । तर यस प्रणालीबाट वस्तुको विक्री गरिदा विभिन्न तहगत संरचना घट्न पुग्दछ ।

हुनपनि उत्पादक कम्पनीबाट उत्पादित वस्तु कमभन्दा कम तह भै उपभोक्तामाझ पुग्नु नै प्रत्यक्ष बिक्री प्रणालीको विशेषता नै हो । यो नै उपभोग्य बस्तुलाई उपभोक्तामाझ पुर्याउने आधुनिक व्यापारको एक नविन तरिका हो । जसबाट उपभोक्तालाई फाइदा त हुन्छ नै यसको साथसाथै स्वरोजगारको समेत सृजना हुन पुग्दछ ।
डाइरेक्ट सेलिङ हाल विश्वमा अत्यन्त प्रचलित व्यापार पद्धतिमा पर्दछ । यसमा कम्पनीले उत्पादन गरेका वस्तुहरु सोझै उपभोक्तासम्म पुग्दछ । ती सामाग्रीहरु प्रयोग पछि सन्तुष्ट भएपछि त्यसको प्रचार गरेमा सामान विक्रीको आधारमा निज उपभोक्तालाई नै बिक्रीको मुनाफा बाँडिने भएकाले पुरानो व्यापारिक पद्धतिमा बानी परेका हामीलाई फरक लाग्न सक्दछ ।
पुरानो पद्धतिमा कुनैपनि कम्पनीको वितरक बनी फाइदामा सहभागी हुन हामीलाई ठूलो लगानीको आवश्यकता पर्दछ भने यो पद्धतिसबैको लागि सहज हुन्छ । यसमा त कुनैपनि व्यक्तिले आफूलाई आवश्यक केही सामान किनी प्रयोग गर्दै गर्दा उ त्यो कम्पनीको बितरक बनी व्यापार गर्न सक्छ । त्यसैले यस्तो व्यापारलाई कतिपय अर्थविदहरुले पुँजीवाद भित्रको समाजबाद भनेर परिभाषित गरेको समेत पाइन्छ ।
नेपालमा वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने)ऐन २०७४ र नियमावली २०७६ जारी भै सकेका छन् । ऐनको धारा ११ ले गर्न नहुने कार्य तोकीसकेको तथा धारा १६ ले स्वदेशी वस्तुको उत्पादन तथा विक्री वितरणलाई प्रोत्साहित गरी कम्तिमा ५० प्रतिशत स्वदेशी वस्तुको अनिवार्य विक्रि वितरण हुनुपर्ने व्यवस्था समेत गरेको छ । यसबाट स्वदेशी वस्तुको उत्पादनमा बृद्धि भई देश औधोगीकरणतर्फ अगाडि बढ्ने देखिन्छ ।
यतिमात्र कहाँ हो र ? यस व्यवसायमा वितरक हुन कुनैपनि किसिमको शैक्षिक योग्यता नतोकिनु, कुनैपनि थप लगानीको आवश्यकता नपर्नु, अनलाइन अफलाइन दुवै तरिकाबाट व्यवसाय विस्तार गर्न सक्नु अनि कुनैपनि समयको पावन्दी नहुनु यस क्षेत्रको विशेषता नै हो । आज विश्वमा यसै क्षेत्रबाट असीमित रोजगार सिर्जना भई आम्दानीको क्षेत्र पनि बढेको छ । हाम्रो देशमा समेत यससँग सम्बन्धित सबै विवरण कम्युटर सिष्टममा राखिनाले आम्दानीमा लाग्ने कर पनि नियमानुसार काटिन्छ ।
यसले राष्ट्रिय आम्दानीमा समेत सकारात्मक प्रभाव पार्दछ । अतःयस प्रणाली मार्फत किसान हुन् वा व्यवसायि, उपभोक्ता हुन् वा वितरक सबैले सम्मानपूर्वक व्यवसायिक लाभ समेत प्राप्त गर्न सक्ने हुनाले आजको समयमा यो अति आवश्यक देखिन्छ । आज विश्वका १७० भन्दा बढी मुलुकमा प्रत्यक्ष व्यापारसम्बन्धी अभ्यास भएको पाइन्छ । जहाँ उपभोक्ताकै सिफारिस अनुसार सक्कली सामानहरुको बिक्री वितरण गरिन्छ । हुनपनि जहाँ वस्तुको प्रत्यक्ष विक्री गरिन्छ त्यसलाई डाइरेक्ट सेलिङ भनिन्छ भने जहाँ कुनैपनि वस्तुको विक्री वितरण हुँदैन सोझै पैसा मात्र संकलन गरिन्छ भने त्यसलाई डाइरेक्ट सेलिङ भनिदैन ।
नेपालमा प्रत्यक्ष व्यापारको कानुन आइ सोही अनुसार कम्पनीहरुले पनि कार्य सुरु गरिसकेको वर्तमान अवस्थामा विश्वव्यापी रुपमा स्थापित भएको यस क्षेत्रलाई अगाडि बढाउन जरुरी छ । – लक्ष्मण प्रसाद खतिवडा




प्रतिकृया