• 2:15 am

कोरोना भाइरसविरुद्ध तीन कम्पनीका खोप नेपालमा परीक्षण गर्न प्रस्ताव

प्रकाशित मिति

२०७७ पुष २७ गते, सोमबार ०९:४१

काठमाडौँ: कोरोना भाइरसविरुद्ध तीन कम्पनीका खोप नेपालमा परीक्षण गर्न प्रस्ताव आएको छ । खोपको क्लिनिकल ट्रायलका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल बोर्डमा प्रस्ताव पुगेको छ। बोर्डले अनुमति नदिई नेपालमा क्लिनिकल ट्रायल गर्न पाइँदैन ।

बोर्डले अनुमति दिएपछि त्यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजानुपर्छ। मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मात्र परीक्षण गरिने परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले बताए । बोर्डका एक सदस्यका अनुसार क्लिनिकल ट्रायलका लागि पेस भएका दुई–तीनवटा प्रस्तावमाथि अध्ययन भइरहेको छ । जसमध्ये इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई)ले प्राविधिक सहजीकरण गरिरहेको भ्याक्सिन मात्र क्लिनिकल ट्रायलका लागि उपयुक्त देखिएको छ । ‘आईभीआईको मात्र होइन अन्य प्रस्ताव पनि आएका छन्। अध्ययन प्रक्रियामै छन्’, स्रोतले भन्यो ।

बोर्डले पहिलो पटक आईभीआईको प्राविधिक सहजकर्ता भएको भ्याक्सिन क्लिनिकल ट्रायलका लागि उपयुक्त भएको जनाएको छ । बोर्डले उपयुक्त भएको जनाएपछि उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने योजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृत दिएपछि मात्र क्लिनिकल परीक्षण गर्न दिइनेछ । यो भ्याक्सिनलाई दुईवटा अस्पतालमा परीक्षण गर्न आवश्यक तयारी गरिएको छ। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा परीक्षणका लागि आवश्यक पूर्वाधार तयारी भइरहेको छ । १२ सयभन्दा बढी व्यक्तिलाई क्लिनिकल परीक्षणमा सहभागी गराइने एनएचआरसीका कार्यकारी प्रमुख डा. ज्ञवालीले जानकारी दिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छापिएको छ ।

प्रतिकृया