• ७ असोज २०८३, बुधबार
  • ६ः३४ बेलुका

एक हप्ताभित्र साउदीको मागपत्र प्रमाणीकरण हुने परराष्ट्र सचिव पौड्यालको आश्वासन

प्रकाशित मिति

२०७७ पुष २३ गते, बिहीबार ०१:०३

काठमाडौं : परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले आगामी एकहप्तामा साउदी अरबस्थित नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरणको प्रकृया शुरूवात गर्ने आश्वासन दिएका छन् ।

National Life

सरकारले श्रम स्वीकृति दिन शुरूवात गरेको ७ महिना भइसक्दा पनि साउदी अरबस्थित नेपाली दूतावासले नयाँ मागपत्र प्रमाणीकरण शुरू नगरेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको एक प्रतिनिधिमण्डल परराष्ट्र सचिव पौड्यालको ध्यानाकर्षण गर्न बुधबार परराष्ट्र मन्त्रालय पुगेको थियोे ।

साउदी दूतावासले मागपत्र प्रमाणीकरण नगर्दा नेपाली कामदारका लागि आउने नयाँ डिमाण्ड प्रभावित भइरहेको व्यवसायीहरुको गुनासो छ । व्यवसायीहरुको गुनासो सुनेपछि सचिव पौड्यालले उक्त आश्वासन दिएको संघका महासचिव सुजित कुमार श्रेष्ठले मध्यान्हलाई जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

रोजगारदाताहरू लामो बाटो तय गरेर मागपत्र प्रमाणीकरण गर्न दूतावास पुग्ने तर नेपाली दूतावासले नेपाली कामदार अझैपनि कोरोना भाइरसको जोखिममा रहनसक्ने भन्दै रोजगादातालाई फर्काउने गरेको नेपालका म्यानपावर व्यवसायीहरु बताउँछन् । त्यसले रोजगारदातालाई अनावश्यक हैरानी दिइरहेको र साउदीका रोजगारदाताहरूले नेपाली कामदारको सट्टामा बंगलादेश र अफ्रिकी देशहरुबाट कामदार लिन थालेको बताइएको छ ।

एक पटक नेपाली कामदारको डिमाण्ड डाईभर्ट भएर अर्को देश गए नेपाल फर्काउन समस्या पर्ने विषयमा गम्भीररूपमा सचिव पौड्यालको ध्यानाकर्षण गराएको महासचिव श्रेष्ठले बताए ।

साउदीसहित युरोपेली देशमा पनि मागपत्र प्रमाणीकरणमा समस्या रहेको भएपनि बुधबारको छलफल साउदी अरबको समस्याको बारेमा मात्र केन्द्रित रहेको महासचिव श्रेष्ठले जानकारी दिए ।

मागपत्र प्रमाणीकरणको कामलाई निरन्तरता दिन नेपाल वैदेशिक रोजगार व्यवसायी संघसहित प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन लगायतका संघसंस्थाले निरन्तररूपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागदेखि परराष्ट्र मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रतिकृया