• १२ असोज २०८३, सोमबार
  • ७ः१४ बिहान

कोभिड–१९ को असर : विद्यालयको सामाजिक परीक्षण प्रभावित

प्रकाशित मिति

२०७७ पुष ३ गते, शुक्रबार १२:५३

टीकापुर, ३ पुस: लामो समयदेखि विद्यालय बन्द छन् । कैलालीको टीकापुर, लम्कीचुहालगायतका कतिपय स्थानीय तहले विद्यालय खोल्न अनुमति दिए पनि अधिकांश स्थानीय तहले अहिलेसम्म विद्यालय खोल्न अनुमति दिएका छैनन् । लामो समय पठनपाठन बन्द हुँदा अध्ययन गतिविधि र विद्यालयमा हुने विविध क्रियाकलापसँगै विद्यालयको सामाजिक परीक्षण कार्यक्रमसमेत प्रभावित भएको छ ।

National Life

विद्यालयको सामाजिक परीक्षण कार्यक्रममा सरोकारवाला पक्ष, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, अभिभावक, समाजसेवी, बुद्धिजीवी र विद्यार्र्थीको उपस्थिति अनिवार्य भए पनि अधिकांश विद्यालयले कोभिड–१९ का कारण सीमित व्यक्तिको उपस्थितिमा कार्यक्रम गर्न थालेका सेतीमैया मावि झुङ्गाका प्रधानाध्यापक पतिराम चौधरीले बताए । “बाध्यता यस्तै आइलाग्यो । हामीले अनिवार्य सामाजिक परीक्षण गर्नुपर्ने हुन्छ । हामीले भेला गर्न सक्ने अवस्था छैन”, प्रधानाध्यापक चौधरीले भने, “सीमित मानिस बोलाएर कार्यक्रम गर्नुपर्यो, विद्यालयमा हुने विविध गतिविधि, सरोकारवालासँग छलफल हुन सकेन ।”

गत वर्ष सरोकारवाला पक्षको बृहत् उपस्थितिमा प्रोजेक्टरको माध्यमबाट सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको राष्ट्रिय मावि मनिकापुरले पनि यस वर्ष सीमित व्यक्तिको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको विद्यालयका प्रधानाध्यापक शम्भुराज भट्टराईले बताए । “हाम्रो विद्यालयको सामाजिक परीक्षण धुमधामसँग सबैलाई बोलाएर गर्ने गथ्र्यौँ, गत वर्ष सबै अभिभावकले विद्यालयको आय–व्ययदेखि सबै गतिविधि थाहा पाऊन् भनी प्रोजेक्टरमा देखाएका थियौँ”, प्रधानाध्यापक भट्टराईले भने, “यस वर्ष २५ भन्दा बढी नागरिक बोलाउन नमिल्ने, कोरोना समुदायमा फैलिएका बेला मापदण्ड मात्र पूरा गरियो ।”

Classic Tech Mobile
Classic Tech Desktop

विद्यालयको सामाजिक परीक्षण कार्यक्रमको तयारीमा रहेको कन्या प्राथमिक विद्यालय पनि गत वर्षजस्तो भीडभाड नगर्ने सोचमा छ । कोरोना भाइरस सङ्क्रमणका कारण अभिभावक पनि कार्यक्रममा आउन नमान्ने र परिस्थिति पनि सहज नभएका कारण आपूm त्यस्तो सोचमा रहेको प्रधानाध्यापक शान्ति नेपालीले बताए । “यसपटक अभिभावक बोलाए पनि आउन मान्दैनन्, भीडभाड गरेर जोखिम बढाउन पनि भएन”, प्रधानाध्यापक नेपालीले भने, “सामाजिक परीक्षण गर्न ढिला भइसकेको छ । अब सामान्य तवरले गर्ने तयारी थालेका छौँ ।”

यस्तै जानकी गाउँपालिकास्थित गौरीशङ्कर प्राथमिक विद्यालय भगतपुरले अघिल्ला वर्षमा समयमै सामाजिक परीक्षण सम्पन्न गरिसक्थ्यो । यस वर्ष कोरोना सङ्क्रमण घट्ला कि भनेर कुरेको विद्यालय अब कागजी प्रक्रिया पूरा गर्ने तयारीमा जुटेको छ । प्रधानाध्यापक सीता चौधरीले सीमित अभिभावक बोलाएर कार्यक्रम सम्पन्न गर्ने तयारी थालेको बताए ।

सामान्यतया विद्यालयले वर्षभरि गरेका विभिन्न गतिविधि सरोकारवालामाझ सुनाउनुपर्ने हुन्छ । यसलाई सामाजिक परीक्षण भनिन्छ । सामाजिक परीक्षण कार्यक्रमका सहभागीबाट आएको थप सुझावका आधारमा विद्यालयको आगामी वर्षका लागि रणनीति बनाउन सजिलो हुने गर्दछ । कतिपय विद्यालयले सीमित अभिभावक बोलाएर सामाजिक परीक्षण थाले पनि कतिपय विद्यालयले सुरसारसमेत गरेका छैनन् । स्थानीय तहले भने समयमै सामाजिक परीक्षण सक्न निर्देशन दिएको छ ।

विभिन्न विद्यालयको सामाजिक परीक्षण कार्यक्रममा उपस्थित हुँदा सरोकारवालाको गत वर्षजस्तो उपस्थिति नभएको र नागरिकमा पनि उत्साह नभएकाले विद्यालयले सीमित व्यक्तिको उपस्थितिमा कार्यक्रम गर्ने गरेको टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले बताए । “समय र परिस्थितिअनुसार स्वाभाविक हो”, अधिकृत अवस्थीले भने, “हामीले पनि भीडभाड नगर्न भनेका छौँ ।”

सामाजिक परीक्षण भनेको विद्यालयले वर्षभरि सञ्चालन गरेका क्रियाकलापबारे अभिभावकलगायत सरोकारवालालाई जानकारी दिने एक प्रक्रिया हो । विगतका वर्षमा कार्यक्रममा बृहत् उपस्थिति हुने गरे पनि कोरोना भाइरस सङ्क्रमण फैलिएका कारण धेरै भीडभाड गर्नु नुहने चिकित्सकको सुझाव छ ।-रासस/File Photo

प्रतिकृया