• १३ असार २०८३, शनिबार
  • ७:५६ बेलुका

मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गरौँः मन्त्री गुरुङ

प्रकाशित मिति

२०७७ कार्तिक २५ गते, मंगलवार ०७:३७

 

काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गरेका छन् । मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उनले बताए । नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०, नवलपरासी ९बर्दघाट सुस्तापूर्व० र चितवनका पत्रकारका लागि अमेरिकी दूतावासको सहयोगमा मिडिया एक्सन नेपालले आयोजना गरेको भ्रामक समाचार र गलत सूचना न्यूनीकरणसम्बन्धी दोस्रो चरणको तालीम समापन कार्यक्रममा आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, “तपाईँको अभियानमा मन्त्रालयले पनि सहयोग गर्छ, सञ्चार क्षेत्रका कानून पनि सुधार गर्छौँ, ती कानूनमा मर्यादित पत्रकारिता थपिनेछ ।”

Kamana Sewa

भ्रम फैलाउने र नकारात्मक समाचारलाई बढी प्राथमिकता दिँदा पछिल्लो समय पत्रकारिताप्रतिको विश्वास कमजोर हुँदै गएको उनको भनाइ थियो । मन्त्री गुरुङले सञ्चार क्षेत्रमा रुपान्तरण गर्ने गरी आफू लागेको पनि जानकारी दिए ।कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले समाजले भरोसा गरेको पत्रकारिता जगतले भ्रम र अफवाह फैलाउनेतर्फ नभई विश्वास बढाउनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले यस तालिमले पत्रकारितालाई जिम्मेवार र विश्वसनीय बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “हामीप्रतिको विश्वासलाई कायम राख्न कमजोरी सुधार गर्नुपर्छ, आचारसंहिता पालना गर्नु नै महत्वपूर्ण हो, यसका लागि हामीले अनुगमन गरिरहेका छौँ, राज्यको तर्फबाट पनि यसतर्फ पहल हुनुपर्छ ।”

Classic Tech Desktop

प्रेस काउन्सिल नेपालका सदस्य सङ्गीता खड्काले आचारसंहिता पालना गरे पत्रकारिता क्षेत्र विश्वसनीय हुने बताइन् । “काउन्सिलले आचारसंहिता पालना गराउन पत्रकारलाई सचेत गराउने र लागू गराउने कार्य गर्दै आएको छ”, उनले भनिन् । भ्रामक र गलत सूचना तथा समाचारलाई न्यूनीकरण गरी पत्रकारिता क्षेत्रलाई मर्यादित, विश्वसनीय, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्यले तालीम सञ्चालन गरिएको मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले जानकारी दिए ।

तीन दिनसम्म सञ्चालन भएको दोस्रो चरणको तालीममा तीन जिल्लाका ३२ पत्रकारको सहभागिता रहेको मिडिया एक्सनका उपाध्यक्ष प्रियङ्का झाले बताइन् । उनका अनुसार ६ जिल्लाका ६४ पत्रकारलाई यस किसिमको तालिम प्रदान गरिएको छ ।
रासस

प्रतिकृया