• १३ असार २०८३, शनिबार
  • ६:४६ बेलुका

भक्तपुरमा विश्वकै ठूलो त्रिशुल निर्माण हुने

प्रकाशित मिति

२०७७ कार्तिक २५ गते, मंगलवार ०७:१९

काठमाडौं, भक्तपुरको चागुँनारायण नगरपालिकामा विश्वकै अग्लो त्रिशुल स्थापना हुने भएको छ । महाँकाल त्रिशुलडाँडा उपभोक्ता विकास समितिले चागुँनारायण नगरपालिका वडा नं ५ स्थित धार्मिक महत्वको दोलागिरी पर्वतमा अवस्थित मुलकोटगढी महाङ्काल त्रिशुल डाँडामा विश्वकै अग्लो त्रिशुल स्थापना गर्न लागेको छ ।

समितिले त्रिशुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको जानकारी नगरपालिकालाई समेत गराएको छ । कुल २ करोड ७० लाख रुपैयाँ लागतमा विश्व शान्ति राष्ट्र कल्याण हेतुले निर्माण हुन लागेको त्रिशुलको लम्बाई जमिनको सतहबाट एक सय फिट उचाईको हुनेछ भने जमिन मुनि करिब साढे आठ फिट हुने छ ।

Kamana Sewa

भित्रि भागमा फलाम र बाहिरी भागमा तामाको धातुले निर्माण हुन लागेको त्रिशुलको तल्लो भागमा करिब १ सय ५० जनासम्म अट्न सक्ने ध्यान केन्द्र समेत निर्माण हुने समितिका अध्यक्ष श्रीकृष्ण खड्काले जानकारी दिए । उनले पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामाथि आक्रमण गर्ने क्रममा सो स्थानमा मुलगढी भएका कारण पनि मुलकोटगढी सांस्कृतिक र धार्मिक एवं ऐतिहासिक महत्वको भएको बताए । उनले मुलकोटगढी महाङ्कालमा विश्वकै अग्लो त्रिशुल स्थापना भएपछि पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने समेत बताए ।

Classic Tech Desktop

चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले मुलकभर बढ्दो क्रममा रहेको कोरोना भाइरसको जोखिमका कारण नगरपालिकाले मठ, मन्दिर, पाटी पौवा लगायत निमार्ण गर्ने भन्दा पनि स्वास्थ्य पूर्वाधार निमार्णमा जोड दिएको बताए । यद्यपि, मिश्रले कोरोना भाइरस संक्रमणको जोखिम कम हुदैं गए त्रिशुल निर्माणका लागि महानगरले पनि सक्दो सहयोग गर्ने बताए ।

मुलकोटगढीमा विश्वकै अग्लो त्रिशुल बाहेक ५५ फिट अग्लो गोरखनाथको मन्दिर, मुलकोटगढी द्धार, सत्तल, त्रिशुलडाँडादेखि साँखुसम्म जोड्ने सिडीमार्ग लगायत निर्माण गर्ने गुरुयोजना समेत रहेको छ । त्रिशुलको शिलान्यास यही मंसिर २२ गते हुनेछ भने करिब ९ महिनामा निर्माण सम्पन्न हुने बताइएको छ ।
रासस

प्रतिकृया