• १० असार २०८३, बुधबार
  • १:०० बेलुका

ढाकामा भविष्य खोज्दै

प्रकाशित मिति

२०७७ कार्तिक २४ गते, सोमबार ११:३०

बाग्लुङ, इजरायलमा स्याहारसुसार (केयर गिभर) का रूपमा काम गर्दागर्दै जुनुमाया घर्तीमगरलाई थाइराइडले सतायो । शल्यक्रियाले थाइराइड केही थामिएपछि उनले नेपाल फर्कने निर्णय लिईन । नौ वर्ष प्रवासमा बिताएर घर्तीमगर घर फर्किन।

यहाँ आएपछि थाइराइड फेरि बल्झियो । काठमाडौँको ह्याम्स अस्पतालमा पुनः शल्यक्रिया भयो । स्वास्थ्यले साथ नदिएपछि ४० वर्षीय घर्तीमगरले वैदेशिक रोजगारीबाट हात धुनुपर्यो । अढाइ वर्षअघि नेपाल फर्किएकी उनले त्यसयता विदेशको मोहसमेत त्यागिन ।

Kamana Sewa

थाइराइड निको भएपछि उनमा सीप सिकेर गाउँमै उद्यम गर्ने सोच पलायो । तमानखोला गाउँपालिका–३ की घर्तीमगरसहित छिमेकका महिला मिलेर ढाका बुनाइको तालिम लिने योजना बनाए । त्यसको अगुवाइ उनले नै गरिन । घरेलु तथा साना उद्योग कार्यालय बागलुङको सहयोगमा सङ्गम म्याग्दीले तालिम दियो ।

Classic Tech Desktop

पन्ध्र दिनको तालिमबाट तमान गाउँका २० महिलाले ढाकाको कपडा बुन्ने सीप सिके । “सीप जानेपछि आयआर्जनमा लाग्नुपर्छ भनेर गत वर्षदेखि कपडा बुन्न थालेका हौँ”, घर्तीमगरले भनिन्, “यसलाई ढाका कपडा उद्योगकै रूपमा चलाउने योजना छ ।”

अहिले ११ वटा तान राखेर महिलाहरुले ढाका बुनिरहेका छन् । कल्याण आमा समूहको भवनमा छिर्दा लहरै तानमा महिलाहरु सीप चलाइरहेका देखिन्छन् । कोही तयार भएका कपडा मिलाइरहेका भेटिन्छन्, कोही एकार्कालाई सघाउँदै ।

ढाका बुन्ने सबै महिला सोही आमा समूहमा आबद्ध छन् । बीस जनाले तालिम लिए पनि १४ जनाले मात्र ढाका बुनाइलाई पेशाको रूपमा अँगालेको समूहका अध्यक्ष तनिमा घर्तीमगरले बताईन्। “गाउँका दिदीबहिनीहरु स्वरोजगार बन्न खोज्दै हुनुहुन्छ”, उनले भनिन्, “वडा, गाउँपालिकाजस्ता निकायले पनि सघाउनुपर्छ ।”

उद्यमी नीलमाया घर्तीमगरले ढाका बुन्नका लागि तानलगायत उपकरण खरिद र व्यवस्थापनमा व्यक्तिगत लगानी परेको सुनाईन् । “एक जनाको रु ५० हजारजति खर्च भएको छ, अहिलेसम्म कतैबाट पनि सहयोग आएको छैन”, उनले भनिन् । ढाकाबाट सल, झोला, टोपी, खादा, इस्टकोटलगायतका कपडा तयार हुने गरेको नीलमायाले बताईन् ।

अहिले उत्पादन भइरहेका कपडा गाउँमै खपत भएको उद्यमी बताउँछन् । ढाकाको कपडा बुन्न समय र मेहनत धेरै लाग्ने भएकाले सोहीअनुसार बजारको सुनिश्चितता गर्नु चुनौतीपूर्ण छ । एउट सलको न्यूनतम रु ७०० देखि दुई हजार ५०० सम्म भाउ तोकिएको छ । कपडाको आकार र डिजाइनअनुसार भाउ तलमाथि हुन्छ ।

कोभिड–१९ का कारण कपडाको बिक्रीमा असर पुगेको उद्यमी जुनुमायाको भनाई छ । ढाका बुन्न चाहिने ऊनीको धागो समयमै ल्याउन पनि समस्या भइरहेको छ । कहिले काठमाडौँ त कहिले बुर्तिबाङ बजारबाट धागो आउँछ । उद्यम शुरु गरेको भर्खर एक वर्ष भएकाले नाफाको लेखाजोखा गर्न महिलाहरुले भ्याइसकेका छैनन् ।

तालिमलगायतका व्यवस्थापकीय खर्च भने उठेको जुनुमायाको भनाइ छ । “उत्पादन बढ्दै जाँदा बजार पनि व्यवस्थापन भयो भने राम्रो कमाइ हुन्छ”, उनले भनिन्, “घरधन्दा भ्याएर फुर्सदको समय यसमा लगाउन पाउँदा हामी खुसी छौँ ।” शुरुको उत्पादन गाउँबाटै बिक्री भए पनि पछिलाई बजार चाहिने जुनुमायाले बताईन् ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाले गत वर्ष समूहको भवनमा लगानी भएको बताउँदै यो वर्ष उद्यम विकासमा महिलाहरुलाई यथोचित सहयोग गरिने बताईन्। “ढाकाको बिक्री कक्ष निर्माण हुन्छ या अरु नै माध्यमबाट भए पनि बजार व्यवस्थापनमा हामी सघाउँछौँ”, उनको भनाई छ । रासस

प्रतिकृया