कार्यकर्ताको हत्या, उजुरी दर्ताको माग गर्दै पर्सामा आज पनि प्रदर्शन जारी
प्रकाशित मिति
२०७७ कार्तिक १२ गते, बुधबार ०२:३६
पर्सा, नेकपाका स्थानीय नेता मुकेश चौरसियाको हत्याको छानबिनका लागि उजुरी दर्ताको माग गर्दै पर्सामा आज पनि प्रदर्शन जारी छ।
पर्साको बिन्दवासिनी गाउँपालिका प्रसौनीभाट्ठामा सपथ ग्रहण कार्यक्रममै झडप हुँदा अर्को पक्षको कुटाईबाट चौरसियाको मृत्यु भएको ६ दिन भैसक्दा पनि प्रहरीले उजुरीसमेत लिन मानेको छैन।
हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराउन खोज्दा प्रहरीले किटानी जाहेरीबाट पूर्व सांसद राजकुमार गुप्ताको नाम हटाए मात्रै उजुरी लिने भन्दै अस्वीकार गरिरहेको छ।
पूर्व एमाले र पूर्व माओवादीका रुपमा दुई खेमामा देखिएका नेकपा स्थानीय कार्यकर्ताबीचको मनमुटावका कारण जिल्ला कार्य समिति सदस्य चौरसियाको हत्या भएको पीडितहरुको भनाइ छ।
झडपमा मृत्यु भएका चौरसिया पूर्वमाओवादी तर्फका हुन्। उनको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै उजुरी दर्ताका लागि पूर्व माओवादीतर्फका नेकपा कार्यकर्ताहरु दैनिक रुपमा प्रदर्शनमा उत्रिएका छन्।
चौरसियाको हत्याको छानबिन गर्न र दोषीलाई कारबाही गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाललेसमेत विज्ञप्ति जारी गरी सरकारको ध्यानाकर्षण गराइसकेका छन्। जिल्लामा ६ दिनदेखि दैनिकजसो हुने प्रदर्शनमा नेता मत्रिका यादवसमेत सहभागी छन्।






प्रतिकृया