• ८ असोज २०८३, बिहीबार
  • ७ः४३ बिहान

महानगरका प्रत्येक वडामा दुई शिक्षक परिचालन गरिने

प्रकाशित मिति

२०७७ आश्विन २० गते, मंगलवार ०८:३३

काठमाडौं, काठमाडौं महानगरपालिकाले राजधानीलाई कोरोना जोखिमबाट बचाउन सामुदायिक विद्यालयका शिक्षक परिचालन गर्ने भएको छ । महानगरले सबै वडामा कन्ट्रयाक्ट ट्रेसिङ गर्न र होम आइसोलेसनमा बसेकालाई परामर्श दिन शिक्षक परिचालन गर्न लागेको हो ।

National Life

कामपा स्रोतका अनुसार छनोटमा परेका शिक्षकलाई शहरी जनस्वास्थ्य विभागले ओरेन्टेसनमा सहभागी गराएर परिचालन गर्ने तयारी भइरहेको छ । राजधानीमा संक्रमितको संख्या दैनिक हजारभन्दा बढी हुन थालेपछि कामपाले नयाँ योजनासहित शिक्षक परिचालन गर्न लागेको हो ।

छनोटमा परेका शिक्षकले होम आइसोलेसनमा बसेकालाई परामर्श दिने, आयुर्वेदिक र अन्य औषधी सेवनको तरिकाबारे जानकारी गराउनेलगायतका क्रियाकलापबारे जानकारी दिनेछन् । कामपा शिक्षा विभागका निमित्त प्रमुख तारापति खरेलले पहिलो चरणमा प्रत्येक वडामा २ जना शिक्षक परिचालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भने– ‘हामीले वडागतरूपमा विद्यालयको नाम उपलब्ध गराएका छौं, वडा कार्यालयले सल्लाह गरेर शिक्षक छनोट गरी कार्यक्षेत्रमा पठाउनेछ ।’ वडा कार्यालयले आफ्नो वडामा पर्ने विद्यालयका शिक्षक छनोट गरी आफ्नै वडामा परिचालन गर्ने उनको भनाइ छ ।

सरकारले वैकल्पिक पढाइ शुरू गरिरहेको अवस्थामा शिक्षकलाई परामर्शमा खटाउँदा पढाइमा असर पर्दैन त भन्ने प्रश्नमा निमित्त प्रमुख खरेलको भने– ‘समय व्यवस्थापन गरी परिचालन गर्दा कुनै समस्या पर्दैन । त्यस विषयमा जनस्वास्थ्य विभागले समय व्यवस्थापन गरिरहेको छ ।’

शिक्षकसँगै प्रत्येक वडामा २ जना स्वास्थ्यकर्मीसमेत परिचालन गर्ने तयारी गरेको छ । महानगरको कार्यपालिका बैठकले निर्णय गरेसँगै शिक्षक र स्वास्थ्यकर्मी परिचालित हुनेछन् ।

कामपाले हाल सयको संख्यामा रहेका स्वाथ्यकर्मीको संख्या वृद्धि गरी करिब १ सय ५० बनाउन तयारी गरेको छ । कामपा कोभिड सम्पर्क अधिकृत ज्ञानबहादुर ओलीले हाल भएको स्वाथ्यकर्मीको संख्या वृद्धि गरी प्रत्येक वडामा दुई–दुई जना स्वाथ्यकर्मी परिचालन गर्ने जानकारी दिए ।

वडाले आवश्यकताका आधारमा छनोट गरेका स्वाथ्यकर्मीलाई थप तालिम दिई परिचालन गर्ने तयारी भइरहेको ओलीको भनाइ थियो ।

यसअघि कामपाले करिब ५० को हाराहारीमा स्वाथ्यकर्मी भर्ती गरेको थियो । महानगरको जनसंख्याको आधारमा थप जनशक्ति परिचालन गर्नुपर्ने भएकोले नयाँ भर्ना गर्न लागेको छ ।
नेपाल समाचारपत्र दैनिकबाट साभार

प्रतिकृया