• १२ असोज २०८३, सोमबार
  • ६ः३७ बिहान

दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई डिआईजी पोखरेलको निर्देशन

प्रकाशित मिति

२०७७ आश्विन १८ गते, आईतवार ०५:३२

काठमाण्डु – महानगरीय प्रहरी कार्यालय काठमाण्डुले नागरिकको सुरक्षाको पूर्णप्रत्याभूति दिलाउने महत्वपूर्ण अभिभारा बोकेका नेपाल प्रहरी जस्तो सुकै परिस्थितिमा पनि जिम्मेवारीबाट विमुख हुन नसक्ने जनाएको छ ।

National Life

महानगरीय ट्राफिक प्रहरी महाखाकाको मेस भवन तथा सफ्टवेयर उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै कार्यालयका प्रमुख प्रहरी नायवमहानिरीक्षक विश्वराज पोखरेलले हरेक प्रहरीले नागरिकको चित्त दुखाउने छैन भन्ने प्रणका साथ सेवा गर्नुपर्ने बताए । उनले कसैको दबाब र प्रभावमा नपरी मनबाटै असल प्रहरी बन्छु भनेर प्रतिबद्ध हुन मातहतका प्रहरीलाई निर्देशन दिए ।

‘व्यवहारमा कुनै पनि नागरिकको चित्त दुखाउने छैन, कानुन कार्यान्वयनमा तेरो÷मेरो र ठुलो÷सानो नभनी सेवा गर्नुछु भन्ने मनमा राखेर काम गर्नुहोस्’, उनले भने, ‘मेरो काम नागरिक, सङ्गठन र राज्यले हेरिरहेको छ, भन्ने सोच मनबाट सधै राख्नुहोस् ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीले मैले त्रुटी गर्दा सङ्गठनको गरीमामा ठेस लाग्छ र राम्रो काम गर्दा सरकार कै शिर उँचो हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्नेमा उनको जोड थियो । उनले एउटा जवानले गरेको गल्तीले सङ्गठनलाई कति क्षति पुगेको छ भनेर विगत स्मरण गर्न आग्रह गरेका छन् । कोभिड–१९ को सङ्क्रमण बढ्दो रहेको परिस्थितिमा प्रहरीको जिम्मेवारी थपिएको स्मरण गराउँदै पोखरेलले जटिल अबस्था आइपरेमा पनि नागरिकेको सुरक्षाबाट प्रहरी भाग्न नसक्ने उनको भनाइ थियो ।

उक्त समरोहमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले आवश्यक कमजोरी हटाउँदै उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारमा कटिबद्ध भएर लागि परेको जानकारी गराए ।

‘अहिलेको चुनौतीपूर्ण अबस्थामा नागरिकलाई बचाउने जिम्मेवरी प्रहरीको हो, आफ्ना व्यक्तिगत समस्यालाई थाती राखेरै भए पनि नागरिकको सुरक्षा महत्वपूर्ण हुन्छ’, ढकालले मातहतका ट्राफिक प्रहरीसँग भने, ‘जिम्मेवारीबाट कोही पनि चुक्नु हुन्न ।’

प्रहरी नायव महानिरीक्षक पोखरेलले आज महानगरीय ट्राफिक प्रहरी महाशाखामा निर्माण भएको प्रहरी अधिकृत तथा जवानको संयुक्त मेस भवन उद्घाटन गरेका छन् । झण्डै रु १४ लाखको लागतमा निर्माण भएको उक्त भवन निर्माण भएकाले अब मेस सञ्चालनमा सहज हुने जनाइएको छ । भवन निर्माणको काम गत माघदेखि शुरु भएको थियो ।

आजै उनले हराएका, फेला परेका तथा चोरी भएका सवारी साधनको अभिलेख व्यवस्थापनसम्बन्धि सफ्टवेयरसमेत उद्घाटन गरेका छन् । उक्त सफ्टवेयरका कारण त्यस्ता सवारीको खोजीका लागि नागरिकले अनलाइनबाटै निवेदन दिन सक्नेछन् । उनीहरु प्ररही कार्यालय आउनुपर्ने छैन । महाशाखालाई प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत उक्त सफ्टवेयर प्रयोगमा ल्याइएको महाशाखाले जनाएको छ ।

प्रतिकृया