• ८ असोज २०८३, बिहीबार
  • ८ः३२ बिहान

सार्वजनिक यातायात खुल्यो, यात्रु छैनन्

प्रकाशित मिति

२०७७ आश्विन १७ गते, शनिबार १०:१३

कोभिड–१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन् । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस ९कोभिड–१९० का कारण चैत १० देखि बन्द रहेको लामो दूरीका सार्वजनिक यातायात सरकारले असोज १ देखि खुला गर्ने निर्णय गरेपनि यात्रु नहुँदा व्यवसायी समस्यामा परेका हुन् ।

National Life

कोभिड–१९ सङ्क्रमण हुनुभन्दा पहिले पूर्वाञ्चल क्षेत्रमा प्रत्येक दिन ४५० सार्वजनिक सवारी साधन ओहोरदोहोर हुँदै आएपनि अहिले यात्रु नहुँदा दैनिक १५० सवारी साधन एक सिटमा एक यात्रु राखेर ओहोरदोहोर गर्न बाध्य छन् । काठमाडौँबाट पूर्वका ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, धनकुटा, सुनसरी, झापा, मोरङ, तेह्रथुम, उदयपुर, सिरहा र सप्तरी जाने ५४ बस कम्पनी मिलेर बनेको पूर्वाञ्चल यातायात व्यवसायी समन्वय प्रालिले यात्रु नभएकाले आलोपालो बस सञ्चालन गर्दै आएको छ ।

प्रालिका सचिव रुद्रबहादुर कार्की सार्वजनिक यातायातमा राहतको प्याकेज नल्याउँदा व्यवसायीहरु मर्कामा परेको बताउनुहुन्छ । “बन्दाबन्दीका कारण ६ महिना थन्किएर बसेका सवारी साधन मर्मत सम्भार गर्न लाखौँ खर्च लागेपनि यात्रु नहुँदा समस्यामा परेका छौँ”,उहाँ भन्नुहुन्छ । सार्वजनिक यातायात खुलेसँगै बैँक तथा वित्तीय संस्थाले किस्ताको लागि ताकेता गर्न थालेपछि व्यवसायी थप मर्कामा परेको उहाँको भनाइ थियो ।
मुलुकको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कबाट थोरै मात्रामा सवारी साधन बाहिरीने गरेका छन् । कोभिड–१९ को सङ्क्रमण हुनुभन्दा पहिले प्रत्येक दिन ६०० देखि ७०० हाराहारीमा सार्वजनिक यातायात उपत्यका बाहिरीने गरेपनि अहिले प्रत्येक दिन २०० देखि २५० सार्वजनिक यातायात बाहिरीने गरेका छन् ।
नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर नयाँ बसपार्कमा यात्रुको चाप कम हुँदै गएको बताउनुहुन्छ । “विगतका वर्षमा दशैँको एक महिनाअगाडि नै नयाँ बसपार्कमा भीड लाग्ने गरे पनि अहिले कोभिड–१९ का कारण यात्रुको चाप छैन”, उहाँ भन्नुहुन्छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला आन्तरिक उडानमा क्षमता बराबर यात्रु बोक्न पाउने र सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा बढी लिएर यात्रु बोक्न पाउने गरी सरकारले गरेको विभेदकारी निर्णयका कारण सार्वजनिक यातायातमा यात्रु नभएको बताउनुहुन्छ । “सार्वजनिक यातायातको भाडाभन्दा थोरै महङ्गो शुल्क तिरेपछि जहाजमा गन्तव्यस्थलसम्म जान पाउने भएपछि सार्वजनिक यातायातमा यात्रुको संख्या घटेकोे हो”, उहाँ भन्नुहुन्छ । सरकारले सडकमा गुड्ने सार्वजनिक सवारी साधनलाई वेवास्ता गरेको उहाँको भनाइ छ ।
यस्तै, कोभिड–१९ र बन्दाबन्दीको असर पर्यटक बसमा समेत परेको छ । कोभिड–१९ का कारण विदेशी पर्यटक नेपाल भ्रमणका लागि नआउँदा पर्यटक बस व्यवसाय पनि सङ्कटमा परेको छ । टुरिष्ट बस एशोसियशन अफ नेपाल ९टिवान०का महासचिव दिपेन्द्र अधिकारी कोभिड–१९ अगाडि प्रत्येक दिन १०० हाराहारीमा काठमाडौँदेखि पोखरा, चितवन, लुम्बिनी र जनकपुर पर्यटक बस चल्ने भए पनि अहिले मुस्किलले तीन÷चारवटा बसमात्र चलेको बताउनुहुन्छ ।
“कोभिड–१९ अगाडि दैनिक दुई÷तीनहजार स्वदेशी तथा विदेशी पर्यटक पर्यटकीय बसमा आवतजावत गर्ने गरेपनि अहिले जम्मा १०० जना यात्रु मुस्किलले आवतजावत गर्छन्”, उहाँ भन्नुहुन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्डअनुसार बस सञ्चालन गर्दासमेत यात्रु नभएको उहाँको भनाइ छ ।
रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया