• ०५:४५ २०८१ बैशाख ७ गते
  • 5:45 am

विमानस्थल निर्माणमा सङ्घ र प्रदेश सरकारबीच साझेदारी

प्रकाशित मिति

२०७७ आश्विन १६ गते, शुक्रबार ०७:१४

Surkhet Airport 1

काठमाडौँ, विमानस्थल विस्तार र स्तरोन्नतिका लागि सङ्घीय सरकार र कर्णाली प्रदेश सरकारबीच पहिलो पटक साझेदारी भएको छ । केन्द्र सरकार र प्रदेश सरकारबीच लागत साझेदारी अवधारणाअन्तर्गत सुर्खेत विमानस्थल स्तरोन्नतिका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त विमानस्थल विस्तार र स्तरोन्नतिका लागि आवश्यक जग्गा अधिग्रहण, रनवे विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास निर्माण गराउन प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच समझदारी गरिएको छ ।

पर्यटनमन्त्री योगेशकुमार भट्टराई, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका उपस्थतिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । संस्कृति मन्त्रालयमा आज समझदारीपत्रमा कर्णालीका आर्थिक मामिला सचिव घनश्याम उपाध्याय र प्राधिकरणका महानिर्देशक राजन पोखरेलबीच हस्ताक्षर भएको हो ।

सो अवसरमा पर्यटनमन्त्री भट्टराईले आयोजना केन्द्रित यो पहिलो समझदारी भएको उल्लेख गदैै सङ्घीयता कार्यान्वयनका सन्दर्भमा कोशेढुङ्गा साबित हुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “यो हाम्रो पहिलो समझदारी हो, अब प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशसँग पनि हुँदैछ ।” पर्यटनमन्त्री भट्टराईले विमानस्थल सङ्घीय सरकारको क्षेत्राधिकारभित्र परे पनि यसको हकदार प्रदेश र स्थानीय सरकार पनि भएकाले समझदारीबाट राम्रो प्रतिफल आउने विश्वास व्यक्त गर्नुभयो । विमानस्थल मात्र नभई सरकारी स्वामित्वको नेपाल एयरलाइन्ससँग पनि प्रदेश सरकारले लगानी तथा सञ्चालनमा साझेदारी गर्न सक्ने उहाँको भनाइ थियो । रासस

प्रतिकृया