• ३० भदौ २०८३, मंगलबार
  • २ः५४ राती

निषेधाज्ञाबीच काठमाडौँ उपत्यकामा सफाइ अभियान

प्रकाशित मिति

२०७७ भाद्र २१ गते, आईतवार ०६:३८

काठमाडौँ, काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाबीच वाग्मती सफाइ महाअभियानलाई भने निरन्तरता दिइएको छ । सफाइ महाअभियानको ३८२औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ भएको हो ।

National Life

पशुपति क्षेत्रको विद्युतीय शवदाह गृह परिसरमा सफाइ गरिएको उहाँले जानकारी दिनुभयो । त्यस क्षेत्रमा बढी फोहर भेटिएकाले सफाइ गरिएको हो । शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलेको नेतृत्वमा सफाइ भयो । त्यस क्षेत्रको नदी किनार र टोलमा सफाइ गरी कुहिने एवं नकुहिने फोहरमा वर्गीकरण गरी व्यवस्थापन गरिएको अभियानकर्मी पौडेलले बताउनुभयो । सफाइमा हनुमान मार्ग टोल विकास समितिका पदाधिकारी एवं सदस्यको सहभागिता रहेको थियो । कोरोनाबाट बच्न भौतिक दूरी कायम गरी सफाइ अभियानलाई निरन्तरता दिइएको थियो ।

विष्णुमती सफाइ अभियानको ३१०औँ हप्तामा संयोजक शोभाकान्त पाण्डेलगायत अभियाकर्मीले सफाइ गर्नुभएको छ । विष्णुमतीको घर, टोल क्षेत्रमै सफाइ गरिएको उहाँले बताउनुभयो । यसैगरी मनोहरा सरसफाइ अभियान १८१औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित बालकुमारी पुलमा वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, संयोजक चन्द्र दङगाललगायत अभियानकर्मीले सफाइ गर्नुभएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै काठमाडौँ उपत्यकाका आलोकनगर, चक्रपथ सफाइ अभियान उत्तरी खण्ड, चक्रपथ सरसफाइ अभियान पश्चिम खण्डले पनि घर, टोल सफाइका साथै राहत वितरण, रक्तदान गरी मनाएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो । ललितपुरको गोदावरी खोला सफाइ अभियानको ७९औँ हप्तामा अभियानकर्मीले घर, टोल सफाइ गरेको अभियानकर्मी बेबी राजभण्डारीले जानकारी दिनुभयो । कोरोनाबाट बच्न भौतिक दूरी कायम गरी सफाइ गरिएको उहाँले सुनाउनुभयो ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी हुँदै देशभर यो अभियान फैलिएको छ । कोरोनाको जोखिम हुनुअघिसम्म देशका १०६ स्थानमा सफाइ अभियान शुरु भएको थियो । हाल कोरोनाका कारण धेरै स्थानको सफाइ अभियान घर, टोल सफाइ अभियान शुरु भएको छ ।
रासस

प्रतिकृया