• २ असोज २०८३, शुक्रबार
  • ६ः४१ बेलुका

सुरुङमार्ग निर्माणसम्बन्धी मापदण्ड तयार

प्रकाशित मिति

२०७७ श्रावण २३ गते, शुक्रबार ०७:४७

 

National Life

काठमाडौं । विकासको नयाँ युगमा प्रवेश गरेको नेपालले अब अन्तरराष्ट्रिय मूल्य र मान्यतामा रहेर सुरुङमार्ग निर्माण गर्ने भएको छ ।

एकपछि अर्को गर्दै सुरुङमार्ग निर्माणमा अगाडि बढिरहेको सरकारले आफ्नै मार्गदर्शनसमेत तयार पारेको छ । हचुवाका भरमा निर्णय गर्दा ठूलो धनराशि खर्च हुने सुरुङमार्गलाई थप व्यवस्थित, प्रभावकारी बनाउने लक्ष्यका साथ मापदण्ड स्वीकृत गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्रिपरिषद्को यही साउन १९ गते बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा उक्त मागदण्ड स्वीकृत गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

सुरुङमार्ग निर्माणलाई थप व्यवस्थित, प्रभावकारी तथा लागतमैत्री बनाउने ध्येयका साथ मापदण्ड स्वीकृत गरिएको मन्त्री डा खतिवडाको भनाइ छ । नेपालमा निर्माण भएका धेरैजसो जलविद्युत् आयोजनामा सुरुङ निर्माण भएका छन् । ती सुरुङ विशेषगरी ‘ड्रिलिङ एण्ड ब्लास्ट’ विधिबाट निर्माण भएका हुन् ।

काठमाडौँ उपत्यकामा खानेपानी ल्याउने महत्वपूर्ण आयोजनाका रुपमा रहेको मेलम्चीको झण्डै २७ किलोमिटर लामो सुरुङसमेत सोही विधिबाट निर्माण भएको हो । यस्तै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनादेखि भारतीय लगानीको अरुण तेस्रो जलविद्युत् आयोजनामा समेत सुरुङ निर्माण गरिएको छ । ती सुरुङमा पानी मात्रै पठाइने भएकाले अब निर्माण हुने सुरुङ अन्तरराष्ट्रिय मापदण्डको हुनुपर्ने आवश्यकता देखिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई मधेश द्रुर्तमार्गमा समेत तीन वटा सुरुङ निर्माण हुनेछन् । मन्त्री डा खतिवडाले देश सुरुङमार्ग निर्माणको चरणमा प्रवेश गरेकाले पनि मुलुकको आफ्नै मापदण्ड तयार पारिएको जानकारी दिए । उनले भने, “हाम्रो आफ्नै मापदण्ड थिएन । लागत अनुमान गर्नसमेत सहज होओस् भनेर मापदण्ड तयार पारिएको हो ।”

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागको गुणस्तर विकास तथा अनुसन्धान केन्द्रले सुरुङमार्गसम्बन्धी आवश्यक मापदण्ड तयार पारेको छ । त्यसमा ‘स्पेसिफिकेसन’ पनि तोकिएको छ ।

यसअघि जलविद्युत् तथा खानेपानी आयोजनामा मात्रै सुरुङ निर्माण भएका थिए । आयोजनाको आवश्यकताका आधारमा मात्रै सुरुङ निर्माण हुने गरेका थिए ।

सरकारले नागढुङ्गामा सुरुङमार्ग निर्माण शुरु गरिसकेको छ । यस्तै, बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा समेत निकट भविश्यमा नै सुरुङमार्ग निर्माण हुँँदैछ । यस्तै टोखा–छहरे सुरुङमार्गसमेत निर्माणको प्रक्रियामा छ । सडक विभागले देशका विभिन्न छ स्थानमा सुरुङमार्ग निर्माण गर्ने तयारी थालेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखिएको छ ।

प्रतिकृया