जनैपूर्णिमा एकः महत्व अनेक
प्रकाशित मिति
२०७७ श्रावण १९ गते, सोमबार ०९:३१
लक्ष्मण प्रसाद खतिवडा, श्रावण शुक्ल पूर्णिमालाई जनै पूर्णिमाको रुपमा युगौदेखि मनाइदै आएको हो । यो दिनलाई ज्ञान, कर्म र पारस्परिक स्नेहको प्रतीकको रुपमा पनि लिने गरिन्छ । मुख्यतः हिन्दू धर्मावलम्बीहरुले यो दिन बिहानै खोला, नदी वा कुण्डमा भेला भई वा नजिकको जलासय वा धारोमा गई माटो,गोबर, कुश , खरानी र अपमार्गले स्नान गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै फेर्दछन् भने आत्मरक्षाको लागि मन्त्रित रक्षासूत्र पनि हातमा धारण गर्दछन् । नेवारी समुदायमा नौवटा गेडागुडि भिजाई टुसा उमारेर बनाइएको क्वाटी खाने तथा तराईमा दिदी बहिनीहरुले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने प्रचलन पनि रहेको छ ।

जनैपूर्णिमाका मूलतः तीन पक्ष रहेका छन् – यज्ञोपवित, रक्षाबन्धन र ऋषितर्पणी ।

हिन्दुदर्शनअनुसार यज्ञोपवीत ९जनै० लाई ब्रह्मासूत्र वा ज्ञानको धागो पनि भनिन्छ । हुनत पौराणिक कालमा सुनको, कालान्तरमा चाँदीको हुँदै हाल काचो धागोको जनै बनाउन थालिएको भन्ने भनाई पनि प्रचलित छ । काँचो धागोलाई पवित्रता र आध्यात्मिक शक्तिको प्रतिक मानिन्छ । धार्मिक शास्त्रानुसार चित्तशुद्धीका लागि ब्रतबन्ध गरी यसै दिनदेखि जनै लगाउन सुरुवात गर्ने गरिएको पाइन्छ । आयु, तेज र बल प्राप्त गर्दै मन, बुद्धि र चित्त शुद्धि हुने विश्वासका साथ आजको दिन वैदिक मन्त्रद्वारा मन्त्रिएका नयाँ जनै फेर्ने गरिन्छ । यसै दिन अक्षता, सस्यूं, दूबो, सर्वोषधि आदि पदार्थसहित वैदिक मन्त्रोच्चारणका साथ अभिमन्त्रित रक्षाबन्धन नाडीमा बाँध्ने चलन रहेको छ । यसले सम्पूर्ण रोग एवं अशुभ कर्मको विनाश गरी वर्षभरी मानिस हरेक विपत्तिबाट सुरक्षित भइरहन्छ भन्ने जनविश्वास रहेको देखिन्छ । यसैगरी यस दिनमा नै देह शुद्धी गर्दै तिल, कुश सहित ज्ञान र सफल जीवनमार्गको शिक्षा दीक्षा दिने ऋषिहरुको सम्मानमा अत्रि आदि सप्त ऋषिहरु तथा पितृहरुको नाममा तर्पण गरी ऋषि तर्पणी पर्व समेत मनाइन्छ ।
पूर्वीय संस्कार अनुसार जनैपूर्णिमाको दिन स्नान, तर्पण, सूर्योपासना, ऋषिपूजन सहित यज्ञोपवीत धारण गर्ने गरिन्छ । यी कार्यहरु शरीर, मन र आत्मशुद्धिका लागि गर्ने गरिएको हो । हुनत जनैधारण र रक्षाबन्धनको आआफ्नै महत्व पनि रहेको छ । जनैमा ९६ वटा धागोको डोरा प्रयोग भएका हुन्छन् । पाँचवर्षमा प्रवेश गरिसकेपछि उपनयन गरी धारण गरिने जनैको ९६ वटा डोराले बाँकी जीवन ९६ वर्षे रहेको बुझाउँदछ भने पाँच ग्रन्थीले पञ्चमहायज्ञ बुझाउँदछ । यसमा रहेको दुई शिखा मध्ये एउटा शिखामा रहेको तीन डोराले ब्रह्मा, विष्णु र शिव तथा अर्को शिखाको तीन डोराले कर्म, उपासना र ज्ञानका तीन योग बुझिन्छ । त्यस्तै सत्ययुगमा दानवद्वारा लखेटिएका देवताहरुलाई देवगुरु बृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा बामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी बचनबद्ध गराएर तीनै लोक प्राप्त गरेको धार्मिक किम्बदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ । त्यसैले डोरो बाँध्दा दैत्यराज बलिको दानशीलता र सत्यनिष्ठा स्मरण गर्दै भन्ने गरिन्छ ।
येन बद्धो बलि राजा दान विन्द्रो महाबल।
तेन त्वां प्रतिबध्नामि रक्ष मा चलः मा चल ।।
अर्थात् वामन अवताररुपी विष्णुले दानवराज बलिराजालाई उनको सुरक्षाको लागि जुन बन्धनले बाँधेका थिए, त्यही बन्धनले तपाईको हातमा पनि बाँधिदिएको छु , तपाईको रक्षा होस् । यसैले रक्षासूत्रको रुपमा रहेको रक्षाबन्धन आज पनि गुरु पुरोहित, ज्वाई, वा भान्जाबाट बाँध्ने गरिन्छ ।
यसका अतिरिक्त यस दिनको अन्य महत्व पनि रहेको छ । सिद्धार्थ गौतमले यसै दिनमा काम शक्तिमाथि विजय प्राप्त गरेकोले बौद्ध धर्मावलम्बीहरुले यस दिनलाई विशेष महत्वले हेर्दछन् भने नेवारी समुदायमा यस पूर्णिमालाई गुंपुन्हि भनी नौ जोर कपडा लगाउने, नौ पटक खाने, नौ बुद्धको दर्शन गर्ने अनि नौवटा खोला तर्ने प्रचलन पनि रहेको भेटिन्छ । यसका साथै यस समुदायमा आजको दिन भ्यागुतालाई भात खुवाउने दिनको रुपमा पनि चिनिन्छ । किम्बदन्ती अनुसार परापूर्वकालमा राक्षसलाई भ्यागुताले हिलोको दलदलमा डुबाई मारेको सम्झना स्वरुप यस दिनमा सबैभन्दा पहिले भ्यागुतालाई भात खुवाउने परम्परा सुरुवात भएको विश्वास गरिन्छ । त्यसैले भक्तजनले बिहानै भ्यागुताको बासस्थान नजिक गएर भात चढाउने गर्दछन्
आजको दिन दोलखाको कालिञ्चोक, रसुवाको गोसाइकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको इन्द्रावतीको नदीको मुहान, रामेछाप र दोलखाको सिमानामा पर्ने पाँचपोखरी र जटापोखरीमा भव्य मेला लाग्छ । आजको दिन विभिन्न देवालयहरुमा पूजा गर्नाले धन र सन्तान प्राप्त हुने तथा चिताएको कुरा पुग्ने धार्मिक विश्वासका साथ हजारौ भक्तजनहरु विभिन्न मठ, मन्दिर र कुण्डहरुको दर्शन गर्दछन् । अझै पाँचपोखरी र जटापोखरीमा त सन्तान नहुने दम्पतीले रित्ता कोक्रो लगेर पूजा आराधना सहित ढुंगा हालेर घर ल्याउने जसबाट सन्तान प्राप्ति हुने धार्मिक विश्वास पनि रहेको देखिन्छ ।
शरीर, मन र आत्मशुद्धिका लागि गरिने आजको सम्पूर्ण कार्यहरु धार्मिक एवं वैज्ञानिक दृष्टिकोणले पनि उपयुक्त छन् । यज्ञशेषको रुपमा रहेको भस्मलेपन (खरानी घसी) गरी गोबर तथा कुश, जौ , दुबो , अपमार्ग सहितको स्नानले विभिन्न छालासम्बन्धी रोग निर्मूल पार्छ । अनि ऋषि तर्पणकार्यले आफूलाई पनि कर्मप्रति निष्ठावान बन्न प्रेरित गर्छ । त्यसैले असल कर्म गर्ने हिन्दुहरुको लागि यो पर्व बढी मूल्यवान छ भने वैज्ञानिक दृष्टिले विभिन्न बस्तुहरुको प्रयोग गरी नुहाइने यो पर्व आफैमा उपयुक्त देखिन्छ । त्यस्तै स्वास्थ्यको दृष्टिले क्वांटी आफैमा असल आहार भएकोले यस पर्वको धार्मिैक, सांस्कृतिक, वैज्ञानिक आदि महत्व रहेको देखिन्छ । वैदिक परम्पराअनुसार जनैलाई ज्ञानको धागो समेत भनिन्छ । जनै आर्यत्वको चिनारी पनि हो । यस दिन गरिने स्नानले शरीर शुद्ध गर्दछ भने देवता, पितृ र ऋषिलाई तर्पण दिँदा मानसिक चित्त शुद्ध हुन्छ ।
वैदिक सूक्तद्वारा अभिमन्त्रित रक्षासूत्रले हाम्रो शरीरमा रक्षा कवचको काम गर्ने भएकाले पनि जनै धारण गर्नु आवश्यक देखिन्छ । तर आजभोलि यस पर्वमा केही विकृति बढी जनै लगाउने, डोरा बाँध्ने फेसन भएको छ तर यसको महत्वलाई बुझी सोही अनुरुप कार्य गरेमा पक्कै पनि यो पर्वले शरीर , मन र आत्मशुद्धि गर्ने निश्चित छ ।
अस्तु




प्रतिकृया