आज अपराह्न बैठक, नेकपा विवाद फेरि सचिवालयमै फर्कियो,
प्रकाशित मिति
२०७७ श्रावण ३ गते, शनिबार ०९:२८
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र चर्केको शक्ति संघर्ष फेरि सचिवालय बैठकमै पुगेको छ ।

विवादका बीच जारी स्थायी कमिटी बैठक पटकरपटकको स्थगनमा परेपछि विवाद फेरि सचिवालय बैठकमै फर्किएको हो ।
केपी ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये कम्तीमा एउटा पद छाड्नै पर्ने प्रचण्ड(माधव समूहको अडान र दुबै पद नछाड्ने ओलीको अडानले फुटको संघारमा पुगेको नेकपाभित्र गतिरोध बल्झिदै गएको छ ।

गतिरोध अन्त्यको प्रयासस्वरूप आज अपराह्न ३ बजे बालुवाटारमा सचिवालय बैठक डाकिएको छ ।
गत असार १७ गते सुरू भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।
विवाद उत्कर्षमा पुगेपछि शीर्ष नेताहरुबीच दुई पक्षीय र त्रिपक्षीय छलफल भएको थियो । तर, ती छलफलबाट पनि सहमति नजुटेपछि नेताहरु सचिवालय बैठकमा फर्किएका हुन् । यसअघि सचिवालय बैठकमा विवाद बढेपछि असार १० गते स्थायी कमिटी बैठक सुरु गरिएको थियो ।
शुक्रबार ओली र प्रचण्डबीच भएको छलफलमा स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।



प्रतिकृया