कञ्चनपुरमा हतियारसहित पुगेका भारतीय सुरक्षाकर्मीद्वारा हुलाकी सडक निर्माणमा अवरोध
प्रकाशित मिति
२०७७ असार २३ गते, मंगलवार ०६:१२
धनगढी । कञ्चनपुरस्थित हुलाकी राजमार्ग निर्माणमा भारतीय पक्षले अवरोध गरेको छ। हतियारसहित पुगेका भारतीय सुरक्षाकर्मी सहित प्रशासनिक अधिकारीको समूहले सडक निर्माणमा अवरोध जनाएको हो।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्वर ८ पचुई क्षेत्रमा भारतीय पक्षले अनावश्यक विवाद झिकेर हुलाकी सडक कालोपत्रेको काम अवरोध गरेको छ।
स्थानीय विवेक लम्सालले भारतीय पक्षले दादागिरी शैलीले नेपाली भूमिमै आएर सडक निर्माण कार्य रोकेको बताए। निर्माण कम्पनीसँग काम नगर्न भनेपछि आइतबारदेखि काम रोकिएको छ। सो सडकखण्डमा ७५ प्रतिशत बेस निर्माण गरिएको छ। कालोपत्रे गर्न मात्रै बाँकी थियो।
बेलौरी नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष नन्द कुमार रानाले भारतीय सुरक्षाकर्मीसहितका अधिकारी आएर उक्त सडक निर्माण कार्य रोकेको बताए।
उनका अनुसार भारतीय पक्षले जिपिएस नक्साबाट उक्त सडक भारतको भूमिमा पर्ने दाबी गर्दै काममा अवरोध गरेको हुन्।
बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले यस बारेमा नेपाली सुरक्षा अधिकारी, प्रशासन सहितको टोलीले भारतीय पक्षसंग संयुक्त वार्ता गरेर निकास निकाल्ने बताए।






प्रतिकृया