प्रधानमन्त्री ओलीलाई कांग्रेस सांसदहरुले बुझाए ध्यानाकर्षण पत्र
प्रकाशित मिति
२०७७ असार २ गते, मंगलवार ०२:००

काठमाडौँ, प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा कांग्रेस सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन । मंगलबार बालुवाटार पुगेर ध्यानाकर्षण पत्र बुझाउदै उनीहरूले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा भएको खर्चलाई आफूले हेरिरहेको बताएका छन् ।
उनीहरुले पीसीआर टेष्टको दायरा बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थित हुनुपर्ने, अस्पतालको व्यवस्थापनमा जुट्नुपर्ने, स्वास्थ्य सामग्री खरिद तथा विदेशबाट नागरिक उद्धारमा भएको भनिएको अनियमितता छानबिन गर्नुपर्नेलगायतका माग राखेका थिए ।
जवाफमा प्रधानमत्री ओलीले कोरोनामा भएको खर्चको हिसाब आफूले पनि हेरिरहेको बताएका हुन् । सरकारको ध्यान कहिले कोरोना महामारीमा रहेकाले दैनिक लेखा परीक्षण गर्न सम्भव नभएको भन्दै उनले भने, ‘कागज छँदैछ । छानबिन गर्दा तलमाथि देखिए सेनाले गरेको होस् वा जसले गरेका होस्, छाड्दिनँ ।’
प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो गरेसँगै कोरोनाको जोखिम बढेको समेत बताएका छन् । यसका लागि अब सबै दलहरु मिलेर सचेतना बढाउनुपर्नेमा उनले जोड दिएको बताइएको छ ।
प्रतिकृया