• ८ असोज २०८३, बिहीबार
  • ९ः४९ बिहान

सप्तरीमा कोरोना परीक्षण प्रयोगशाला शुरु

प्रकाशित मिति

२०७७ जेष्ठ २५ गते, आईतवार १२:५८

सप्तरी, सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब परीक्षण कार्य आइतबारदेखि शुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा प्रदेश २ को सामाजिक विकास मन्त्रालयबाट खटिएको टोलीद्वारा रियल टाइम पीसीआर मेसिन जडान कार्य तथा डेमो गरिसकेपछि औपचारिक परीक्षण कार्य थालिएको हो ।

National Life

राजविराज नगरपालिकास्थित क्वारेन्टाइनबाट २२ जनाको स्वाब सङ्कलन गरी परीक्षण शुरु गरिएको छ । सङ्कलित स्वाब अबेर राति परीक्षणको प्रक्रियामा राखिएकोले आजै आइतबार रिपोर्ट आउने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभएको छ । अन्यत्रबाट स्वाब रिपोर्ट आउन एक हप्तासम्म लाग्ने गरेकोले राजविराजमै परीक्षण कार्य शुरु भएकोले अब सहज हुने उहाँको भनाइ छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा. दासका अनुसार प्रयोगशालामा माइक्रो बायोलोजिष्ट, मेडिकल टेक्नोलोजिष्ट, ल्याब टेक्नेसियन, ल्याब असिस्टेन्ट र सहयोगीसमेत गरी १० जना जनशक्ति परिचालित भएका छन् । प्रदेश २ को सामाजिक विकास मन्त्रालय जनकपुरले गजेन्द्रनारायण सिंह अस्पतालका लागि पीसीआर मेसिन पठाई आवश्यक व्यवस्थापनको समेत प्रबन्ध मिलाएको छ । अस्पताल परिसरमा रहेको प्रयोगशाला भवनमै सञ्चालन हुने उक्त मेसिनमा ९६ ओटा क्यासेट लाग्ने अर्थात एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्नसक्ने क्षमता रहे पनि शुरुमा केही कम स्वाबको स्याम्पल परीक्षण गर्दै दायरा बिस्तारै बढाउँदै लगिने अस्पतालका कोभिड ( १९ व्यवस्थापन संयोजक डा। रणजित कुमार झाले जानकारी दिनुभएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

राजविराजमा प्रयोगशाला नहुँदा स्वास्थ्य कार्यालय, सप्तरी र अस्पतालमा सङ्कलन गरिएका स्वाब धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइँदैआएको थियो । उहाँका अनुसार त्यहाँबाट स्वाब रिपोर्ट आउन १० दिनसम्म लाग्ने गरेकोले परीक्षण कार्यले गति लिन नसकेकोमा अब राजविराजमै परीक्षण हुने भएपछि कोरोना पहिचान कार्यमा तीव्रता पाउनुका साथै जिल्लावासीलाई सहज हुनेछ ।

सप्तरी जिल्लामा भारतबाट आएका एक हजार ८०२ जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभएको छ । धरान र विराटनगर पठाइएको ३७२ जनाको स्वाब रिपोर्ट आउन बाँकी रहेको छ । गोरखापत्र आनलाइनबाट साभार

प्रतिकृया