कैलालीकी कोरोनाबाट मृत्यु भएकी महिलाको गाउँ सिल
प्रकाशित मिति
२०७७ जेष्ठ २५ गते, आईतवार ११:२१
कैलाली । धनगढी उपमहानगरपालिका ४ महिमा टोलकी एक महिलामा कोरोनाको कारण मृत्यु भएको पुष्टि भएपछि उनी बस्ने महिमा टोल हिजो साँझदेखि प्रहरीले ‘सिल’ गरेको छ। प्रहरीको टोली हिजो त्यस क्षेत्रमा गएर माइकिङ गरी ‘सिल’ गरिएको जानकारी गराएको थियो।
प्रहरी नआएको र चहलपहल पूर्ववत हुन थालेपछि ती महिलाको अन्तिम संस्कारमा मलामी गएकाहरूले नै तुलसी चोकमा बोर्ड नै राखेर आवागमन अवरुद्ध गरेका छन् । पुरै टोल ‘सिल’ गरिएपछि स्थानीय बासिन्दा त्रसित छन्। उनीहरू घरबाट निस्किन डराईरहेका छन्। सबै पसलहरू बन्द छन्।
दुई दिनअघि सेती प्रादेशिक अस्पतालमा मृगौलाको डायलासिसका क्रममा महिलाको मृत्यु भएको थियो। मृत्युपछि स्वाव संकलन गरिएकी ती महिलाको त्यसैदिन अन्त्येष्टि गरियो। र, हिजो मात्र उनमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमणको पुष्टि भएपछि मलामी गएका र शव बोक्ने व्यक्तिहरू आतंकित भएको स्थानीय विजय चौधरीले जानकारी दिए । मलामी गएका व्यक्तिहरुले जतिसक्दो चाँडो आफूहरूको कोरोना परीक्षण गराइ दिन अनुरोध गरेका छन्।






प्रतिकृया