भर्चुअल शिक्षा र कोरोनाको लाज
प्रकाशित मिति
२०७७ जेष्ठ १४ गते, बुधबार ०२:१६
कल्पना खतिवडा
सधैं अबेरसम्म ओछ्यानमा लुटपुटिने म आज चाँडै ब्युँझिएँ । कता कता भारी मन अनि आफूसँग नै डराएको तनसँग उठ्दा अप्ठ्यारो महसुस भयो । सदाझैं रेडियोबाट समाचार सुन्न आतुर थिएँ । कोरोनाले सबैतिर जरा गाडे जस्तो …..सबैतिर तहसनहस ….छ्या !…. कानमा अनलाइन क्लासले प्रवेश गर्दाका शङ्का उपशङ्का अनि सञ्चार माध्यमबाट पस्किएको समाचार गुञ्जनका साथ हतारिँदै उठें ।
ए आज त चामल पनि पो सकिएछ …..। खै….के के हो के के…..।
पहिले नौ बजेको कक्षा सञ्चालन गर्छु अनि मात्र चामल खोजौंला । मनमनमा ला ….पैसा पनि पो छैन …..। पल्ला घरको दाइसँग माग्नु प¥यो, छोरो विदेशमा छ रे……..। ओहो के गर्ने होला, मलाई मात्र यस्तो भएको हो त ? अनुत्तरित प्रश्न आफ्ना सामु तेर्सिन आइपुग्छ । हरे शिव …….। नानाभाँती सोच्दै गहृौं मनकासाथ मुहारमा मुस्कान बोकी आफू ज्ञान बाँड्न तत्परताका साथ अघि बढ्दै छु ।
ओहो !…मानिसहरुले कति धैरै चामल, लत्ता कपडा बाँडेर सहयोगी हात बढाएका रहेछन् । सबैतिर जय जयकार छ । तल्लो घरको कान्छा दाइले खाद्यान्न बाँडे रे । फोटो नि छापिएछ । मैले त केही गरिनँ ।

हिजो आज छिनछिनमा भर्चुअल कक्षाको बारेमा सुन्दा अनौठो लाग्छ । प्रविधिमैत्री रे । प्रविधिमैत्री हुन पाउँदाका रमाइला क्षणहरुको चर्चा सुन्दा सबैको पहुँच छ वा छैन, उत्तर भेट्न सकिँदैन । बहस छ । बाल बालिका, अभिभावक सबै मारमा परे रे, राज्यले पनि केही नगर्ने भनेको कुरा सुन्दा हृदयदेखि नै भन्न मन लाग्छ, शिक्षा दानभन्दा ठूलो दान केही हुनै सक्दैन । यसरी नै नामको भोक मेटाउन लागि परेका मानिसहरु सम्झन्छु ।
खै, म त घरभित्र छु । कोरोनासँगको लाज, डर वा अरु कसैसँगको लाज हो । उत्तर मलाई नै थाहा छैन । फेरि मेरो अगाडि अनलाइन उभिन्छ । कस्तो अदृश्य अनि अपार । भोको, नाङ्गो मुस्कान पस्कँदै यस विषम परिस्थितिमा परामर्शदाताको भूमिका निभाउँदा आफू मात्रै खुसी नभई आनन्द पनि पाइने रहेछ । साना साना बाल बालिकाहरुसँगको सामिप्य, ठूलाहरुको सम्मान अतुलनीय रहेछ । यो त संसारका सबै शक्तिभन्दा माथि छ भन्दा अत्युक्ति नहुने रहेछ । यो दान पैसासँग दाँज्न पनि नमिल्ने… ।
एकातर्फ शिक्षा बाल बालिकाको नैसर्गिक अधिकार हो भनी नारा लगाइन्छ अनि अनलाइन कक्षाका नाममा पैसा नदिनु, नलिनु भन्ने जस्ता विरोधाभासपूर्ण विषयका बारेमा उर्दी जारी गरेको कुरा सुनिन्छ । अनि लाग्छ, ज्ञानी मानिस नै संसारको सबैभन्दा ठूलो दानी हो । यही कुरा स्वीकार गर्न सकिन्छ । राहत वितरण गरेर सामाजिक कार्य गरें भनी हिँड्दा नाक ठाडो हुने अनि घरभित्र बसेर भोको पेट दान गर्दा इज्जत जाने पक्कै पनि होइन । ज्ञान बाँडदा नै बढी पुण्य प्राप्त हुनेछ । कोरोना घरभित्र छिर्दैन भनेझैं शिक्षा दान गर्ने मानिस हतास भने अवश्य हुँदैन । म फेरि भर्चुअल शिक्षा र कोरोनाको लाज सम्झिन्छु ।






प्रतिकृया