• २१ भदौ २०८३, आइतबार
  • १०ः३१ बिहान

रुपन्देहीको सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च, एक हजार सशस्त्र प्रहरी परिचालन

प्रकाशित मिति

२०७७ बैशाख १८ गते, बिहीबार १०:१४

 

National Life

बुटवल । रुपन्देही प्रशासनले कोरोना संक्रमण भित्रिन नदिन भारतीय सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाएको छ । बेलहिया भन्सार नाकाबाट खाद्यान्नका मालवाहक सवारी साधनबाहेक भारतसँग सीमा जोडिएको रुपन्देहीको दक्षिणी भेगबाट कसैलाई पनि प्रवेश गर्न नदिएको प्रशासनको दाबी छ ।

बेलहियादेखि कपिलवस्तुको सीमा क्षेत्रसम्मको ६० किलोमिटर दुरीमा ८९ वटा अस्थायी चेकपोस्टमा एक हजार सशस्त्र प्रहरी परिचालन गरिएको छ । एउटा पोस्टबाट अर्को पोस्टसम्म मानिस आउजाउ गरेको देख्न सकिने गरी पोस्ट खडा गरी चौबीसै घण्टा ड्युटी गर्ने गरी प्रहरी तैनाथ गरिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए । सामान्य अवस्थामा चार सय ५० जनाले सीमा क्षेत्रमा ड्युटी गर्थे, लकडाउनपछि अन्य जिल्लाबाट समेत जनशक्ति ल्याएर एक हजार जना खटाएको पोखरेलले जानकारी दिए।

Classic Tech Desktop

एउटा पोस्टमा ५ जनादेखि ८ जनाले दैनिक १२ देखि १६ घण्टा ड्युटी गरेर भारततर्फबाट कसैलाई प्रवेश गर्न नदिएको प्रहरी उपरीक्षक पोखरेलले बताए । दैनिक १५ जनादेखि २० जनासम्म सीमा क्षेत्रबाट नेपाल आउन खोज्ने व्यक्तिलाई सम्झाएर भारतीय प्रहरीको जिम्मा लगाउने गरिएको पोखरेल बताउँछन् । विभिन्न नाकाबाट दैनिक १५ देखि २० जना नेपाली र भारतीय नागरिक नेपाल आउन खोज्नुहुन्छ तर प्रहरीले आउन नदिई फर्काइरहेका समेत जानकारी दिए।

लकडाउनका कारण रोकिएका एकसय ५४ जना भारतीयलाई २४ दिन नेपालको क्वारेन्टाइनमा राखेपछि भारत पठाइएको र दुई सय १३ जना नेपालीलाई पनि सीमापारिबाट नेपाल ल्याइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

रुपन्देहीमा अझै ४८ जना भारतीय नागरिक बुटवल, तिलोत्तमा, देवदह, सैनामैना र मायादेवी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले बताए ।

प्रतिकृया