एम्बुलेन्स चालक बेपत्ता भएपछि कोरोना ‘संक्रमित’ युवक आफैं मोटरसाइकल चलाएर आइसोलेसन पुगे
प्रकाशित मिति
२०७७ बैशाख ३ गते, बुधबार ०८:३९
धादिङ । र्यापिट डाइग्नोस्टिक टेस्ट किट (आरडीटी)बाट गरिएको परीक्षणमा एन्टिबडी पोजेटिभ (कोरोना संक्रमणको संकेत) देखिएका धादिङका युवक आफैं मोटरसाइकल चलाएर अस्थायी आइसोलेसनमा पुगेका छन् ।

कोरोना संक्रमणको संकेत देखिएका व्यक्तिलाई बोक्ने एम्बुलेन्स फेला नपरेपछि गाउँपालिकासँगको समन्वयमा युवक आफैं मोटरसाइकल चलाएर आइसोलेसनमा पुगेका हुन् । आरडीटी परीक्षणका क्रममा मंगलबार धादिङको ज्वालामुखी गाउँपालिकाका युवकमा एन्टिबडी पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई आइसोलेसनमा ल्याउन गाउँपालिकाले एम्बुलेन्सको व्यवस्थापन गर्न शुरु गरेको थियो ।
तर, गाउँपालिकामा रहेको एम्बुलेन्सका चालक कोरोना संक्रमितलाई बोक्नुपर्ने भन्दै बेपत्ता भए । पछि गाउँपालिकाले नै संक्रमणको संकेत देखिएका युवालाई मोटरसाइकल उपलब्ध गराएको थियो । सो मोटरसाइकलमा आइसोलेसनमा पुगेका थिए । ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोद तिमल्सिनाले एम्बुलेन्स नपाएपछि युवकलाई बाइक उपलब्ध गराएर मंगलबार राती १० बजे धादिङबेसीको कृषि ज्ञान केन्द्रमा बनाइएको अस्थायी आइसोलेसनमा पुर्याइएको बताए ।

अध्यक्ष तिमिल्सिनाका अनुसार कोरोना संक्रमणको संकेत देखिएका युवक भाग्न सक्ने भन्दै उनको निगरानीका लागि जनप्रतिनिधि पनि अर्को मोटरसाइकलमा उनको पछिपछि आएका थिए । गाउँपालिकाका अध्यक्ष तिमल्सिनाका आरडीटी परीक्षणबाट एन्टिबडी पोजेटिभ आएपछि ती युवाको पीसीआर विधिबाट परीक्षण गर्न थ्रोट स्वाब संकलन गरिएको छ । संकलति स्वाबको नमूना परीक्षणका लागि बागमती प्रदेशको प्रयोगशाला हेटौंडामा पठाइएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
र्यापिड टेस्टका क्रममा युवामा कोरोना पोजेटिभ देखिए पनि उनमा कोरोनाको कुनै लक्षण भने नदेखिएको अध्यक्ष तिमल्सिनाको भनाइ छ ।
‘युवकले आफैं बाइक चलाएर आइसालेसनमा पुगे, मलाई केही लक्षण छैन, म स्वस्थ छु भनेका छन् । मलाई कसरी कोरोना देखियो थाहा छैन तर मसँग कोरोनासँग लड्ने क्षमता छ, म आवश्यक पर्ने केयर पनि आफुलाई गर्छु युवकले भनेका छन्,’ गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।



प्रतिकृया