• २१ भदौ २०८३, आइतबार
  • १२ः४९ दिउँसो

खाद्यान्न सहजै पाइन्छ, कालोबजारी भएको छैनः मन्त्री भट्ट

प्रकाशित मिति

२०७६ चैत्र २९ गते, शनिबार ०९:४६

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलन नपाओस् भनेर देशव्यापी लकडाउनको घोषणा गरेको छ । सरकारले अत्यावश्यक बाहेकको अवस्थामा घर बाहिर ननिस्कन आग्रह गरेको छ । लकडाउनको शुक्रबार १८ औँ दिनसम्म आइपुग्दा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै असहज अवस्था नआएको सरकारले जनाएको छ ।

National Life

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबार नेपाल टेलिभिजन मार्फत सरकारले आवात जावतमा रोक लगाए पनि छिमेकी मुलक भारततर्फबाट खाद्यान्नको आयातमा कुनै समस्या नरहेको बताए । सीमाबाट व्यवस्थित ढङ्गबाट ‘आयात निरन्तर भइरहेक र आपूर्ति सहज भइरहेको बताएका छन् । मुलुकभर खाद्यान्न तथा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलको सिङ्गो टिम आपूर्ति व्यवस्थामा अवरोध आउन नदिन दिनरात लागिपरेको उनको भनाइ छ ।

लकडाउनको १७ दिनसम्म आइपुग्दा ३७ हजार ३३४ खाद्यान्न, १४ हजार ५४ मेटन गेडागुडी तथा दलहन, २१ हजार ६२६ मेट्रिक टन तरकारी, पाँच हजार ९६२ मेट्रिक टन फलफूल, ८० मेट्रिकटन दुग्धजन्य पदार्थ र रु १० करोड ८७ लाख सात हजार बरारबरको विभिन्न प्रकारका कच्चा पदार्थ र रु ५६ करोढ ९७ लाख २७ हजार बराबरको तयारी औषधि पनि आयात भएको मन्त्री भट्टले भनेका छन्।

Classic Tech Desktop

खाद्यान्न तथा अत्यावश्यक वस्तु बोकेर आएका ट्रक तथा कन्टेनरलाई ‘डिसइन्फेक्सन’ गरेर नेपाल प्रवेशको व्यवस्था मिलाइएको बताए । आयात गर्न चाहेका खाद्यवस्तु सबै निर्वाधरुपमा आइरहेका उनले भने, ‘खाद्यवस्तु भएको ट्रक तथा कन्टेनरलाई तत्काल भन्सार जाँच पास गरिदिन अर्थ मन्त्रालयसँग छलफल गरिएको छ ।’

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का वाणिज्य सहसचिवस्तरीय ‘भिडियो कन्फ्ररेन्स’मार्फत व्यापारमा सहजीकरण गरिएको जानकारी दिँदै उनले खाद्यान्नको आपूर्तिमा कुनै व्यवधान नआउने प्रष्ट पारे । अत्यावश्यक वस्तुको ढुवानीमा समस्या आउन दिन ढुवानी व्यवसायी महासङ्घसँग पनि निरन्तर संवाद भइरहेको उल्लेख गर्दै उनले ढुवानीको निरन्तरताका लागि ट्रक तथा ट्याङ्कर चालक, सहचालक तथा मजदुरले ठूलो योगदान गरेको बताए ।

सरकार र निजी क्षेत्रसँग पर्याप्त मात्रामा दैनिक उपभोग्य वस्तुको मौज्दात रहेको भन्दै उहाँले खाद्यान्न अभाव हुन्छ भनेर चिन्ता नलिन आग्रह गरे । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ र निजी क्षेत्र एक लाख २५ हजार २९० मेट्रिकटन चामल मौज्दात रहेको उहाँले जानकारी दिए ।

त्यसैगरी सात हजार २९४ मेटन चिनी, एक लाख ६० हजार ५४९ मेटन नुन, १६ हजार ८१ गेडागुडी तथा दाल, १६ हजार ८६८ मेटन खानेतेल मौज्दात रहेको मन्त्री भट्टले बताए । खाद्य उद्योगसँग चार महिनालाई नेपालको माग धान्न सक्ने चामल मौज्दात रहेको छ । दाल तथा गेडागुडी र तेल तीन महिनालाई पुग्ने मौज्दात रहेको उनको भनाइ छ ।

‘सरकारले पेट्रोलियम पदार्थको पनि पर्याप्त मौज्दात राखेको छ । नेपाल आयल निगमको इन्धन भण्डारण क्षमता पूर्ण रुपमा भरिएको छ । निजी क्षेत्रको पेट्रोल पम्प सबै भरिएका छन् । ‘ग्यासको पनि पर्याप्त मौज्दात रहेको छ । उद्योग, सिलिण्डर सबै भरिएका छन् । ग्यासको आयातमा कुनै समस्या छैन । हामीले माग गरे अनुसारकै ग्यास आइरहेको बताएका छन्।’

ग्यासको आयात निरन्तर रहेको भन्दै मन्त्री भट्टले घरमा अनाश्यक सिलिण्डर थुपारेरर जोखिम ननिम्त्याउन उपाभोक्तालाई आग्रह गरे । ‘ग्यासको कुनै अभाव छैन । आवश्यक मात्र एक÷दुई वटा सिलिण्डर मात्र राख्नुस्’, उनले भने ‘बढी सिलिडर नराख्नुस्, दुर्घटना हुन सक्छ ।’ उनले आपूर्ति प्रणालीमा कुनै समस्या आउन नदिइने दृढता व्यक्त गरे। ‘आपूर्ति व्यवस्थालाई सहजीकरण गर्न आपूर्ति मन्त्रालय र मन्त्रालयको सिङ्गो टिम लागेको छ’, उनले भने । चीनतर्फको तातोपानीको नाका खुलिसकेको जानकारी दिँदै उनले त्यहाँबाट अत्यावश्यक समान आउन थालिसकेको बताए ।

सङ्कटको समयमा उपभोक्ता ठगिमा नपरुन भनेर सरकारले बजार अनुगमनलाई तीव्रता दिएको उल्लेख गर्दै मन्त्री भट्टले कालोबजारी गर्ने एकाध व्यापारीमाथि कारबाही गरिएको बताए । ‘हिजोका दिनमा भएको जस्तो कालोबजारी अहिले छैन, एकाध मान्छेलाई कारबाही गरेका छौँ’, उनले भने, ‘खाद्यन्नमा मूल्य बढेको छैन तर फलफूलको अभाव देखिएकाले केही मूल्य बढेको छ ।’ दैनिक उपभोग्य वस्तुमा बढी मूल्य लिएको पाइए सरकार कडा कारबाही गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

उपभोक्ताले चर्को मूल्यमा हरियो तरकारी किन्नुपर्ने र किसानले बारीमा फलेका तरकारी नष्ट गर्नुपरेको अहिलेको अवस्थालाई सरकारले नजिकबाट नियालेको बताउँदै उहाँले किसानको बारीमा फलेको तरकारी बजारसम्म ल्याउने तयारीमा लागिएको जानकारी दिए । ‘कालिमाटीको भिडभाड कम गर्न राजधनीका १२ ठाउँमा तरकार बेच्ने व्यवस्था मिलाएका छौँ’, मन्त्री भट्टले भने ‘उपत्यका वरपरका किसानको तरकारी काठमाडौँ ल्याउन गृह र कृषि मन्त्रालयसँग समन्वय गरिरहेका छौँ ।’

कुनै पनि व्यक्ति तथा परिवारलाई खाद्यान्नको समस्या परेमा निःशुल्क टोलफ्री नम्बरको व्यवस्था गरिएको बताउँदै उहाँले अप्ठ्यारो परे ११३७ मा फोन गर्न आग्रह गरे । खाद्य व्यवस्था, साल्ट ट्रेडिङ तथा स्थानीय प्रहरी प्रशासनलाई खबर गरेमा तत्कालै अभाव भएको स्थानमा खाद्यन्न पुर्‍याउने उनको भनाइ छ ।

लकडाउनको समयमा खाद्यान्नको वितरणलाई प्रभावकारी बनाउन घुम्ती सेवा सञ्चालन गरिएको उल्लेख गर्दै मन्त्री भट्टले खाद्य व्यवस्था तथा साल्ट ट्रेडिङले अनलाई प्रणालीमा काम सुरु गरिसकेको बताए ।

आवश्यकताअुनसार अहिलेलाई काठमाडौँ उपत्यकामा घुम्ती सेवा सञ्चालनमा ल्याइएको जनाउँदै उनले मुलुकका अन्य ठूला शहरमा पनि सेवा सञ्चालन गर्न सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल भइरहेको बताए । ‘कहाँ आपूर्तिको व्यवस्था गर्नुपर्छ त्यहाँ गरेका छौँ । हिमाली जिल्लामा हवाई माध्यमबाट पनि खाद्यान्न पुर्‍याउने गरेका छौँ, उपत्यकामा मात्र खाद्यान्न पुर्‍याउने होइन, सबै क्षेत्रमा पुर्‍याउनेतर्फ राज्यको ध्यान गएको उनले भने ।

प्रतिकृया