‘लैंगिक समानता नीति’ छिट्टै मन्त्रीपरिषदमा पेश गरिने : मन्त्री गुरुङ
प्रकाशित मिति
२०७६ फाल्गुन १९ गते, सोमबार ०६:५९
काठमाडौं, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘लैंगिक समानता नीति’ छिट्टै मन्त्रीपरिषदमा पेश गर्ने बताउनु भएको छ । मन्त्री गुरुङले ‘लैंगिक समानता नीति’ बनाउने कामलाई तीव्रता दिइएको उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि सम्बद्ध सबै पक्षलाई आह्वान गर्नु भयो ।
वन तथा वातावरण मन्त्रालय अन्तरगतको रेड कार्यान्वयन केन्द्रले सोमबार ललितपुरमा आयोजना गरेको ‘वन क्षेत्रमा लैंगिक समावेशीकरण’ विषयक राष्ट्रिय कार्यालय गोष्ठीमा बोल्दै उहाँले वन क्षेत्रलाई पनि लैंगिक मैत्री बनाउन ढिलाई गर्न नहुनेमा जोड दिनु भयो ।
‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई चालू आर्थिक वर्ष भित्रै लैंगिक मैत्री बनाउने नीति लिइएको छ,’ मन्त्री गुरुङले भन्नु भयो, ‘वन क्षेत्रको कामलाई पनि लैंगिक मैत्री बनाउने काममा ढिलाई गर्न हुन्न ।’ मन्त्री गुरुङले ५ वर्ष भित्र नेपाललाई नै लैगिक मैत्री देश बनाउने योजनाका साथ काम भईरहेको पनि बताउनु भयो । उहाँले सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास गर्ने सोच अघि सारिएको पनि स्मरण गराउनु भयो । मुलुकको समृद्धिका लागि सामाजिक क्षेत्रको कामको योगदान महत्वपूर्ण हुने मन्त्री गुरुङको भनाई थियो ।





प्रतिकृया