बुँदा परिमार्जन गरेर एमसिसी पारित हुन्छ: सांसद बस्नेत
प्रकाशित मिति
२०७६ फाल्गुन १७ गते, शनिबार ०५:४२
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले केही बुँदा परिमार्जन गरेर मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसी पारित हुने बताउनुभएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा एमसिसीका बारेमा नेकपाको प्रष्ट धारणा रहेको बताउँदै उहाँले भन्नुभयो, ‘यो जनता र राज्यका पक्षमा भएकाले यसलाई पास गर्नुपर्छ ।’ सांसद बस्नेतले देशलाई समृद्धि बनाउने पक्षमा वर्तमान सरकार लागेको बताउँदै नयाँनयाँ योजनाका साथ सरकार अगाडि बढेको र सरकारको गतिविधि देखेर प्रतिपक्ष आत्तिएको आरोप समेत लगाउनुभयो ।
सांसद बस्नेतले गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँले दोषी भएमा कोही उम्किन नसक्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रियस्तरमै चलेको कमिसनका बारेमा अहिलेसम्म कानून नबनेको र कानून बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजीनामा दिनुपर्ने कुनै कारण तथा अवस्था नरहेको स्पष्ट पार्दै अनावश्यक हल्लाको पछि नलाग्न आम सुभेच्छुकलाई आग्रह गर्नुभयो । पार्टी भित्र हुने आन्तरिक विवाद सामान्य घरझगडा जस्तो मात्र भएको उल्लेख गर्दै उहाँले पार्टीमा हुने कुनै पनि बहस तथा छलफल हुने र त्यसलाई छलफलको माध्यमबाट समाधान हुने स्पष्ट पार्नुभयो ।






प्रतिकृया