• 1:56 am

आगामी दुई वर्षमा काठमाडौं उपत्यकाभित्रका ढुंगेधारा र पोखरीहरुलाई जीवन्तता दिनेछौंः खानेपानी मन्त्री मगर

प्रकाशित मिति

२०७६ फाल्गुन १६ गते, शुक्रबार ०६:३२

काठमाडौं । काठमाडौं उपत्यका भित्र रहेका ढुंगेधारा र पोखरीहरुको संरक्षण गर्ने खानेपानी मन्त्रालयले बताए । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड), मध्यपुर थिमी र ललितपुरको महालक्ष्मी नगरपालिकाबीच शुक्रबार समझदारी भएको छ ।

खानेपानी मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा मध्यपुर थिमीका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र भ्याली बोर्डका कार्यकारी निर्देशक डा. संजिव विक्रम राणाले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । मध्यपुर थिमी र महालक्ष्मी नगरपालिकाभित्र रहेका ढुंगेधारा तथा पोखरीहरुको संरक्षण र पुनर्निर्माण आगामी दुई वर्षभित्र सम्पन्न गरिसक्ने प्रतिबद्धता दुवै नगरपालिकाले गरेको छ ।

कतिपय ढुंगेधारा तथा पोखरीहरु सुकेका छन् तिनीहरुलाई रिचार्ज सिस्टममा लगेर आम उपभोक्तालाई खानेपानी सेवा पुर्याउने योजना रहेको बताउनुभयो । उहाँले जोड दिंदै भन्नुभयो, ‘ पानी निशुल्क प्रयोग गर्न पाउनुपर्छ भन्ने हाम्रो चाहना हो, त्यस कारण ढुंगेधारा पोखरीको पानी प्रयोग गरे बापत कुनै शुल्क लिंदैनौं ।

बोर्डले काठमाडौं उपत्यका भित्रका महानगर सहित १० वटै नगरपालिका भित्र रहेका कूल ५ सय ७३ ढुंगेधारा र २ सय ७३ पोखरीहरुको विस्तृत अध्ययन र नक्सांकन गरेको थियो । जसमध्ये ४ सय ७९ वटा ढुंगेधाराहरु स्थलगत रुपमा भेटिएका र ९४ वटा ढुंगेधाराहरु हराएको अध्ययनले देखाएको छ । त्यसैगरी १ सय ९३ वटा पोखरीहरु स्थलगत रुपमा भेटिएका र ४० वटा पोखरीहरु हराएको बोर्डले जनाएको छ ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्रेष्ठले आफ्नो नगरपालिकाभित्र रहेका सबै ढुंगेधारा र पोखरीहरुको संरक्षण दुई वर्ष भित्र गरिसक्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले यो कार्यलाई विशेष प्राथमिकता दिएर अघि बढ्ने र यसका लागि समयमै बजेट विनियोजन हुनुपर्ने बताउनुभयो ।

त्यस्तै मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले ढुंगेधाराको पुनर्निर्माण र पोखरीहरुको संरक्षण गर्ने कार्यलाई अभियानकै रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आम स्थानीय उपभोक्ताहरुको सहभागितामा यो अभियानलाई पुरा गरेर छाड्ने अठोट गर्नुभयो ।

मध्यपुर थिमी नगरपालिका भित्र ५९ वटा ढुंगेधाराहरु रहेका छन् भने १७ वटा पोखरीहरु छन् जसमा ३ वटा पोखरीहरु लोप भएका छन् । त्यस्तै महालक्ष्मी नगरपालिकाभित्र १० वटा ढुंगेधारा र १४ वटा पोखरीहरु स्थलगत रुपमा भेटिएको देखिएको छ भने ६ वटा पोखरीहरु विभिन्न कारणले लोप भएका छन् ।

प्रतिकृया